विराटनगरः कुखुरा र सुँगुरका कारण उत्पन्न फोहोरबाट दुर्गन्ध फैलिएको भन्दै विराटनगर महानगरमा उजुरी पर्न थालेका छन् । विराटनगर महानगरका केही वडामा यस्तो समस्या देखिएको छ । स्थानीय बासिन्दाको उजुरीसँगै महानगरले त्यस्ता क्षेत्रको पहिचान सहित समाधानका लागि काम थालेको छ ।
विराटनगर महानगरको न्यायिक समितिमा यस्तो उजुरी परेपछि उपमेयर इन्दिरा कार्की र वडाध्यक्ष बद्री सरदारसहितको टोलीले बिहीबार महानगरस्थित वडा नं.१९ को धनपुरा टोलमा अनुगमन गरेको छ । पैनीको डिलमा दर्जनौंको सङ्ख्यामा पालिएका सुँगुरको मलमूत्र र कुखुराको सुलीको गन्धका कारण स्थानीयले सास्ती बेहोरेको पाइएको छ ।
बिना अनुमति पैनीको छेउमा पालिएका सुँगुर र कुखुराका कारण दुर्गन्ध फैलिएको भन्दै स्थानीयले उपमेयरसँग तत्काल त्यस्ता पशुपंक्षी हटाइदिन आग्रह गरे ।
अनुगमनपछि न्यायिक समितिकी संयोजक उपमेयर कार्कीले तत्काल समस्या समाधानका लागि पहल थालिने बताइन् । उनले तत्काल सम्बन्धित धनीलाई व्यवस्थित गरी पशुपंक्षी पाल्न र इजाजत लिन आग्रह गरिएको बताइन् । ठूलो जनसङ्ख्यालाई समस्या पार्ने र दुर्गन्धमा बस्नुपर्ने अवस्था अन्त्य गर्न महानगर लाग्ने कार्कीले बताइन् ।
यस्तै विराटनगर महानगरको ११ र ६ नं वडामा समेत सुँगुरको समस्या रहेको भन्दै कार्कीले यसको समस्या समाधानमा समेत महानगर लागेको बताइन् ।