धनकुटाः निरन्तरको वर्षासँगै झरेको पहिरोका कारण यातायात सञ्चालन हुन नसकेको कोशी राजमार्गमा पहिरो झर्ने क्रम नरोकिएपछि स्काभेटरले समेत काम गर्न सकेको छैन ।

गर्जुवा खोलामा आएको बाढीले बिहीबार रातीबाट कोशी राजमार्ग अन्तर्गत धरान–धनकुटा सडक खण्ड करीब ८ घण्टा अवरुद्ध बनेको थियो । माटोको लेदोसहित खोलामा आएको बाढीले सडक पुरिएपछि बिहीबार राती १२ बजेदेखि कोशी राजमार्गमा सवारी आवातजावत बन्द भएको थियो ।

सडकमा थुप्रिएको लेदोसहितको अवरोध डिभिजन सडक कार्यालयको स्काभेटरले पन्छाएपछि बिहान ८ बजे सडक सञ्चालनमा आएको थियो । तर, १० नबज्दै लावरबोटेमा पनि पहिरो खसेपछि सडक फेरि अवरुद्ध बनेको हो । सडक खुलाउन अहिले २ ओटा स्काभेटर प्रयोग गरिए पनि पहिरो खस्ने क्रम नरोकिएकाले स्काभेटरले समेत काम गर्न सकेको छैन ।

अहिले पनि सो स्थानमा पहिरो झरिरहेको छ । पहिरो रोकिए स्काभेटर प्रयोग गरी २ घण्टामा सडक सञ्चालनमा ल्याइने जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी नायब निरीक्षक सुरेन्द्र खड्का बताउँछन् ।

सडकलाई पहिरोले पूर्ण रूपले पुरेपछि यात्रुहरू खोलाबाटै जोखिम मोलेर वारपार गर्न बाध्य भएका छन् । बिरामी तथा अशक्तलाई सशस्त्र र जनपद प्रहरी तथा स्थानीयले खोला तार्ने काम गरेका छन् ।

पहिरो वारीका सामान वारीबाटै पहिरो पारीका सामान पारीबाटै फर्कन थालेकाले पुनः अर्काे सवारी चढेर यात्रुहरू गन्तव्यतर्फ लाग्न थालेका छन् ।

gantabya tira lagdai yatru dhankuta bato abaruddha