विराटनगरः मोरङका विभिन्न स्थानका सर्वसाधारणले घर–घरमै निःशुल्क उपचार पाउन थालेका छन् । नोबेल शिक्षण अस्पतालले ‘घर–घरमा डाक्टर, घर–घरमा नर्स’ अभियान सञ्चालन गरेको जनाएको छ ।

छ महिना अघि शुरु भएको यो अभियानबाट मोरङको बेलबारी, सुन्दरहरैचा, पथरीशनिश्चरे, कानेपोखरी लगायतका स्थानका १० हजार बिरामीले घरमै निःशुल्क उपचार पाएको अस्पतालको भनाइ छ । गरीबीका कारण पैसाको अभावमा कुनै पनि बिरामीले अकालमै मृत्युवरण गर्न नपरोस् भनेर ‘घर–घरमा डाक्टर, घर–घरमा नर्स’ अभियान सञ्चालन गरिएको डा.सुनिल शर्मा बताउँछन् ।

अभियान अन्तर्गत शनिबार बाहेक हरेक दिन एमबीबीएस डाक्टर र नर्सको टोली बिरामीको घर–घरमा पुग्छन् । उनीहरूले सामान्य अवस्थाका बिरामीलाई टोलमा भेला गरेर उपचार गर्छन् । गम्भीर बिरामीलाई घरैमा पुगेर उपचार गर्ने गरिएको छ । घरमा उपचार सम्भव नहुँदा आफ्नै एम्बुलेन्समा नोबेल अस्पताल ल्याई निःशुल्क उपचार गर्ने गरिएको अभियानमा खटिएका डा. हिमलाल भण्डारीले जानकारी दिए ।

घरघरमा पुग्ने डाक्टरको टोलीले बिरामीको रोग पहिचान, भिडियो एक्सरे, रगत परीक्षण, ईसीजी लगायतका सेवा प्रदान गर्ने गरेको छ । अस्पतालमा प्रति बिरामी करिव ३ हजार पर्ने उक्त सेवा बिरामीले घरमा निःशुल्क पाउँछन् । गम्भीर बिरामीको आर्थिक अवस्था मूल्याङ्कन गरी विपन्न परिवारको भएमा नोबेलमा ल्याएर पूर्ण रुपमा निःशुल्क उपचार गर्ने गरिएको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार यो अभियानबाट यसरी निःशुल्क उपचार पाउने बिरामीको सङ्ख्या करीब ५ सय पुगेको छ ।

गंम्भीर बिरामीलाई थप उपचारका लागि ल्याउन भेन्टिलेटरसहितको एम्बुलेन्स अभियानमा दैनिक खटाइएको बताइएको छ ।