धनकुटाः निरन्तरको वर्षाका कारण कोशी राजमार्गअन्तर्गत धनकुटा खण्डमा जताततै पहिरो खसेको छ ।

सो खण्ड अन्तर्गत फेदीदेखि धनकुटा बसपार्क सम्मको करीब २५ किलोमिटर क्षेत्रभित्र मात्रै साना ठूला गरी ३ दर्जन पहिरा खसेका छन् । गर्जवा, लावरबोटे, गुठीटारलगायतका स्थानमा पहिरोको बढी असर देखिएको छ । पहिरो पूरै हटाउन नसकिएकाले सबै ठाउँबाट एकतर्फी रूपमा यातायात सञ्चालनमा ल्याइएको धनकुटाका ट्राफिक प्रहरी प्रमुख सुरेन्द्र खड्काले जानकारी दिए ।

सडक क्षेत्रका कतिपय स्थानमा अहिले पनि ढुङ्गा खस्ने क्रम नरोकिएकाले सडकमा जोखिमसमेत कम हुन नसकेको सवारी चालक बताउँछन् । कतिपय स्थानमा भीर खसेको छ भने कतिपय स्थानमा नयाँ खोलिएको सडकका कारण पहिरो खसेको छ ।

पहिरोकै कारण ग्रामीण क्षेत्रका अधिकांश सडकसमेत बन्द छन् । कोशी राजमार्गबाट धनकुटाका विभिन्न स्थान जोड्ने तथा गाउँगाउँबाट गाउँपालिका केन्द्र जोड्ने केहीबाहेक अधिकांश सडक बन्द रहेका छन् । सामान्य अवरोध रहेको स्थानमा अवरोध हटाएर सवारी सञ्चालन गर्ने तयारी गरिएको सम्बन्धित गाउँपालिकाका प्रमुखहरूले जनाएका छन् ।

sadakma jatatai pahiro  (2)