विराटनगरः नोबेल शिक्षण अस्पतालले दुर्गम क्षेत्रका बिरामीलाई अस्पताल पु¥याउन सहज होस् भनी पाँचथरको एक क्लबलाई एम्बुलेन्स प्रदान गरेको छ । पाँचथरवासीको सहजताका लागि स्थानीय नमुना बाल तथा युवा क्लबलाई नोबेलले करीब ११ लाख मूल्यको एम्बुलेन्स निःशुल्क प्रदान गरेको हो ।
पाँचथर सदरमुकाम फिदिममा आयोजित कार्यक्रममा नोबेल अस्पताल सञ्चालक डा. सुनिल शर्माले क्लबका अध्यक्ष सन्तोष श्रेष्ठलाई एम्बुलेन्सको चाबी हस्तान्तरण गरेका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै डा. शर्माले पाँचथरका अति विपन्न १ सय बिरामीलाई नोबेलले निःशुल्क उपचार गर्ने घोषणासमेत गरे । ‘गाउँका अति गरीब बिरामीलाई राजनीतिक दलहरू मिलेर ल्याउनुहोस्, हामी निःशुल्क उपचार गराइदिन्छाँै,’ शर्माले भने, ‘तर, बिरामीको उपचार जस्तो पुण्यको काममा राजनीति नगरौँ । सबै पार्टी मिलेर बिरामीको उद्धार गरौँ ।’
नोबेलमा विपन्न नागरिक औषधी उपचार कोष, आमा सुरक्षा कार्यक्रम र स्वास्थ्य बीमामार्फत् सहुलियतमा उपचार हुँदै आएको जानकारी दिँदै डा. शर्माले सहुलियत सुविधाको उपयोग गर्न सबैलाई आग्रह गरे ।
समाजसेवाका क्षेत्रमा सक्रिय डा. शर्माले बिरामीको सहजताका लागि निःशुल्क एम्बुलेन्स दिएर ठूलो सहयोग पु¥याएको भन्दै पाँचथरवासीको तर्फबाट सो कार्यक्रममा डा. शर्मालाई सम्मानसमेत गरिएको थियो ।
कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी निर्मल तुम्रोक, जिल्ला समन्वय समितिका नरबहादुर गुरुङ, उद्योग वाणिज्य सङ्घ पाँचथरका अध्यक्ष दीपक नेपाल, गैसस महासङ्घका उपाध्यक्ष क्षोमाया तामाङले आफ्नो धारणा राखेका थिए ।
त्यस्तै, नेपाली काङ्ग्रेस मोरङ सभापति डिगबहादुर लिम्बू, काङ्ग्रेस पाँचथर सभापति नरेन्द्रकुमार केरुङ, महासमिति सदस्य ललित श्रेष्ठ, नेकपाका नेता वीरदल राई, सङ्घीय समाजवादीका कमल हाङसरुम्बा, फिदिम नगरपालिकाका प्रमुख ओनाहाङ नेम्वाङलगायतले एम्बुलेन्स प्रदान गरेकोमा नोबेल अस्पताल परिवारको प्रशंसा गरेका थिए ।
डा. शर्माले यसअघि मोरङको पथरीशनिश्चरे–९ पुलचोकस्थित त्रिपुरेश्वर शिव पञ्चायन मन्दिरलाई पनि निःशुल्क एम्बुलेन्स प्रदान गरेका थिए ।