इटहरीः जनता बहुमुखी क्याम्पसको सञ्चालक समितिको निर्वाचनको अन्तिम नामावली प्रकाशित भएको छ । नयाँ कार्यसमिति चयनको लागि जारी निर्वाचन प्रक्रिया अन्तर्गत शनिबार दिउँसो अन्तिम नामावली प्रकाशित भएको हो ।

नामावली प्रकाशित भएसँगै नयाँ कार्यसमितिको लागि चुनावी प्रक्रिया शरु भएको निर्वाचन समितिले जनाएको छ । नेपाली काङ्ग्रेस, नेकपा, राप्रपा र समाजवादी पार्टीको संयुक्त प्यानल बनेको छ । नेकपाका नेता रेवतीरमण भण्डारीको नेतृत्वमा १३ सदस्यीय प्यानल बनेको हो । सर्वदलीय सहमति अनुसार भण्डारी आगामी सञ्चालक समितिको अध्यक्ष बन्ने भएका छन् ।

सर्वदलीय प्यानलमा काङ्ग्रेसको तर्फबाट विकास केसी, तीर्थ पराजुली, शिवराज दाहाल, देवु निरौला, ज्योति कोइराला र प्रमोद भट्टराईको उम्मेद्वारी परेको छ ।

त्यस्तै सोही प्यानलमा नेकपाका रेवतीरमण भण्डारी, चन्द्र भट्टराई, रेवतीप्रसाद घिमिरे, ईश्वर भट्टराई, भीमप्रसाद सुवेदी (सागर) रहेका छन् भने राप्रपाबाट युगप्रिय निरौला र आकाशहाङ लिम्बूको उम्मेद्वारी परेको छ । भागबण्डा अन्तर्गत काङ्ग्रेसको तर्फबाट ६, नेकपा बाट ५ र राप्रपाबाट २ जनाको उम्मेद्वारी परेको हो । १३ सदस्यीय पदको लागि हुने निर्वाचनमा १५ जनाको उम्मेद्वारी परेपछि चुनावी प्रक्रिया शुरु भएको हो । सञ्चालक समितिमा १७ जना रहने भए पनि ४ जना मनोनित सदस्य रहने व्यवस्था गरिएको छ ।

भण्डारी नेतृत्वको प्यानल बाहेक २ जना स्वतन्त्र उम्मेद्वार चुनावी मैदानमा देखिएका छन् । हेमसागर तिम्सिना र यज्ञबहादुर कट्वालले दिएको स्वतन्त्र उम्मेद्वारीकै कारण चुनावी प्रक्रिया अगाडि बढ्ने भएको हो ।

निर्वाचन समिति संयोजक गीता अधिकारीका अनुसार १४ गते मङ्गलबार बिहान ८ बजेदेखि दिउँसो ३ बजेसम्म चुनाव हुने भएको छ ।