बेलबारीः झापा, मोरङ, सुनसरी लगायतका जिल्लामा डेङ्गुको प्रकोप बढेपछि निजी स्वास्थ्य क्लिनिकले डेङ्गु परीक्षण गर्दा आफूखुशी रकम लिन थालेपछि बेलबारी नगरपालिकाले भने निःशुल्क परीक्षण गर्ने भएको छ ।
बेलबारीका ३ वटा स्वास्थ्य संस्थाबाट डेङ्गुको निःशुल्क परीक्षण गरिने मेयर ज्ञानेन्द्र सुवेदीले बताए । वडा नम्बर १ मा रहेको बेलबारी स्वास्थ्य चौकी, वडा नम्बर ९ मा रहेको डाँगीहाट स्वास्थ्य चौकी र वडा नम्बर ७ मा रहेको बाहुनी प्राथमिक स्वास्थ्य केन्द्रमा निःशुल्क परीक्षण गरिने मेयर सुवेदीले बताए ।
नगरपालिकाले डेङ्गुको लार्भा खोजी गर्ने तथा नष्ट गर्नेदेखि विभिन्न जनचेतनामूलक कार्यक्रमसमेत गरिसकेको छ । विभिन्न वडामा डेङ्गुविरुद्धको औषधी छिट्ने काम समेत सकिएको नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख सन्तोष बिश्वकर्माले बताए ।
‘वर्षापछि जतासुकै डेङ्गुका बिरामी बढ्न सक्छन्’, विश्वकर्माले भने, ‘घर वरपर सबैले सरसफाइमा विशेष ध्यान दिनुपर्छ ।’ नगरपालिकाले गाउँगाउँमा स्वास्थ्यकर्मीको टोली पठाएको पनि उनले बताए ।
दु्रत गति टोली (आरआर टिम) गठन गरेर भाउन्ने, लक्ष्मीमार्ग, बेलबारी, लालभित्ती र थापा चोकमा रहेका बाइक ग्यारेज, होटल र पसलमा टोलीले सरसफाइ गर्दै चेतनामूलक कार्यक्रमसमेत गरिसकेको मेयर ज्ञानेन्द्र सुवेदी बताए ।