इटहरीः जनता बहुमुखी क्याम्पसको सञ्चालक समितिको निर्वाचनको अन्तिम नामावली शनिबार दिउँसो प्रकाशित भयो ।
नयाँ कार्यसमिति चयनको लागि जारी निर्वाचन प्रक्रियाअन्तर्गत प्रकाशित नामावलीमा एक जना पनि महिला उम्मेदवार देखिएनन् । सर्वदलीय गठबन्धन र स्वतन्त्र उम्मेद्वारमा पनि महिलाको अनुहार देखिएको छैन ।
राजनीतिक दलहरूले महिलालाई नपत्याउँदा इटहरीकै एकमात्र सामुदायिक क्याम्पसको सञ्चालक समिति महिलाविहीन बन्ने देखिएको छ । निर्वाचन समितिकी संयोजक आफैँ महिला रहेको निर्वाचन प्रक्रियाबाट पुरुष मात्र निर्वाचित हुने भएका छन् ।
सञ्चालक समितिको सदस्य सचिवमा क्याम्पस प्रमुख रहने वैधानिक व्यवस्था छ । हालका क्याम्पस प्रमुख भोजराज श्रेष्ठ रहेका छन् ।
दलीय सहमतिअनुसार सञ्चालक समितिको आगामी अध्यक्षका रूपमा अघि सारिएका रेवतीरमण भण्डारी दलहरूले त्यता ध्यान दिन नसकेको बताउँछन् । विधानमा महिलाको लागि बाध्यात्मक व्यवस्था नगरिएको र कुनै महिलाले पनि आकाङ्क्षा नदेखाएकाले महिला उम्मेद्वार नभएको उनको भनाइ छ । मनोनित ४ जनाको कोटामा पनि पुरुष अनुहार नै जाने उनले बताए ।
नेपाली काङ्ग्रेस, नेकपा, राप्रपा र समाजवादी पार्टीको संयुक्त प्यानल बनेको छ । नेकपाका नेता रेवतीरमण भण्डारीको नेतृत्वमा १३ सदस्यीय प्यानल बनेको हो । सर्वदलीय सहमति अनुसार भन्डारी आगामी सञ्चालक समितिको अध्यक्ष बन्ने भएका छन् । ४ दलको समीकरण बाट बनेको प्यानलमा १ जना पनि महिला उम्मेद्वार छैनन् ।
सर्वदलीय प्यानलमा काङ्ग्रेसको तर्फबाट विकास केसी, तीर्थ पराजुली, शिवराज दाहाल, देवु निरौला, ज्योति कोइराला र प्रमोद भट्टराईको उम्मेद्वारी परेको छ ।
त्यस्तै सोही प्यानलमा नेकपाका रेवतीरमण भण्डारी, चन्द्र भट्टराई, रेवतीप्रसाद घिमिरे, ईश्वर भट्टराई, भीमप्रसाद सुवेदी (सागर) रहेका छन् । राप्रपाबाट युगप्रिय निरौला र आकाशहाङ लिम्बूको उम्मेद्वारी परेको छ । भागबन्डा अन्तर्गत काङ्ग्रेसको तर्फबाट ६, नेकपाबाट ५ र राप्रपाबाट २ जनाको उम्मेद्वारी परेको हो ।
निर्वाचनमा १५ जनाको उम्मेद्वारी परेपछि चुनावी प्रक्रिया शुरु भएको हो । १७ सदस्यीय हुने सञ्चालक समितिमा ४ जना मनोनित सदस्य रहने व्यवस्था गरिएको छ ।
भण्डारी नेतृत्वको प्यानलबाहेक २ जना स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा देखिएका छन् । हेमसागर तिम्सिना र यज्ञबहादुर कट्वालले दिएको स्वतन्त्र उम्मेद्वारीकै कारण चुनावी प्रक्रिया अगाडि बढ्ने भएको हो ।
निर्वाचन समिति संयोजक गीता अधिकारीका अनुसार १४ गते मङ्गलबार बिहान ८ बजेदेखि दिउँसो ३ बजेसम्म चुनाव हुने कार्यतालिका रहेको छ ।