धनकुटाः सामुदायिक विद्यालय भन्नेबित्तिकै अभिभावकमा नाक खुम्च्याउने प्रवृत्ति छ । शैक्षिक स्तर कमजोर रहेकाले पछिल्लो समय सामुदायिक विद्यालयमा विद्यार्थी भर्नादर घट्दो छ ।
तर, विद्यार्थी अभावले बन्द हुने अवस्थामा पुगेको धनकुटा– ३ सेउलेस्थित ज्वालादेवी आधारभूत विद्यालयमा यतिबेला भने विद्यार्थीको आकर्षण बढेको छ ।
२ वर्षअघि विद्यार्थी अभावले बन्द हुने अवस्थामा सो विद्यालय पुगेको थियो । शैक्षिक गुणस्तर सुधारको लागि विद्यालयले पढाइको गुणस्तरसँगै भौतिक संरचनामा सुधार गरेपछि यो सामुदायिक विद्यालयप्रति विद्यार्थीको आकर्षण बढेको हो । अहिले विद्यालयमा अङ्ग्रेजी माध्यमबाट पढाइ शुरु हुनुका साथै अतिरिक्त क्रियाकलाप, मासिक परीक्षा, भौतिक संरचना निर्माण तथा शैक्षिक सामग्रीको पूर्ण रूपमा व्यवस्था गरिएको छ ।
वडा कार्यालय, वडाध्यक्ष, तथा विभिन्न दाताको सहयोगमा विद्यालयमा शैक्षिक सामग्री जुटाई गुणस्तरमा सुधार गरिएको शिक्षिक विमला वाग्लेले जनाइन् ।
अङ्ग्रेजी माध्यमबाट पढाइ हुनुपूर्व विद्यालयमा वर्षमा औसतमा ३÷४ जना विद्यार्थी मात्र भर्ना हुने गरेका थिए । अहिले औसतमा १६ जना विद्यार्थी भर्ना हुने गरेका छन् । २ वर्षको अन्तरालमा विद्यालयमा विद्यार्थीको सङ्ख्या पनि १३ बाट बढेर ४५ पुगेको छ ।
गाउँबाट आफ्ना बालबालिका बोकेर निजी विद्यालय पुग्ने अभिभावकले अहिले भने सोही विद्यालयमा ल्याउन थालेका छन् । शैक्षिक गुणस्तर सुधार भएकाले पुनः सोही विद्यालयमा आकर्षित भएको अभिभावक बताउँछन् ।
विद्यालयमा पढाइका साथै अतिरिक्त क्रियाकलाप, खेलकुद तथा संस्कार समेत सिकाउने गरिएको छ । शिक्षकले विद्यार्थीलाई तँ र तिमी भनेर सम्बोधन गर्दैनन् । विद्यार्थीले पनि त्यसैलाई अनुशरण गदै एकअर्काबीच तपाईं भनी सम्बोधन गर्ने गर्छन् ।
अहिले सो गाउँका लगभग सबै विद्यार्थी सोही विद्यालयमा पढ्ने गरेका छन् ।