विराटनगरः वैदिक कर्मकाण्ड परिषद् नेपालको आयोजनामा शनिबार विराटनगरमा धार्मिक हाजिरीजवाफ सम्पन्न भएको छ ।
धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक विषय संरक्षण गर्ने उद्देश्यका साथ विराटनगरमा धार्मिक गुरुकुलीय पाठशालास्तरीय हाजिरीजवाफ प्रतियोगिता गरिएको आयोजकले जनाएको छ ।
प्रतियोगितामा स्थानीय धार्मिक युवा पहिलो, लक्ष्मीनारायण वेद विद्या गुरुकुल दोस्रो र लक्ष्मीनारायण मन्दिर गुरुकुल पीपलचोक तेस्रो भएका छन् । कार्यक्रममा विराटनगर महानगरका मेयर भीम पराजुलीले प्रतियोगितामा विजयी तथा सहभागीलाई बधाइसहित प्रमाणपत्र प्रदान गरेका थिए ।
सोही कार्यक्रममा वैदिक कर्मकाण्ड परिषद नेपालका अध्यक्ष कुमार निरौलाद्वारा लिखित हिन्दू विज्ञान नामक पुस्तकको मेयर पराजुलीले विमोचन गरे । धार्मिक तथा सांस्कृतिक क्षेत्रमा भएका र सुनिएका भ्रम र यसका वास्तविक पक्ष पुस्तकमा उल्लेख गरिएको छ ।
कार्यक्रममा बोल्दै मेयर पराजुलीले धार्मिक आस्थाले समाजलाई सकारात्मक दिशामा अगाडि लैजाने बताए । समाजलाई धार्मिकवान र नैतिकवान बनाउन सबै क्षेत्रका बौद्धिक व्यक्तित्व लाग्नुपर्ने उनको भनाइ थियो । महानगरभित्रका सबै खाले धार्मिक तथा सांस्कृतिक पहिचानका क्षेत्रको विकासमा लगानी गरिरहेको मेयर पराजुलीले बताए ।