इटहरीः४ हजार ५ सय विद्यार्थी अध्ययन गर्नेे इटहरीको सबैभन्दा ठूलो क्याम्पस जनता बहुमुखी क्याम्पसको सञ्चालक समितिको निर्वाचन यही साउन १४ गते हुँदैछ । कक्षा ११देखि स्नातकोत्तरसम्म पढाइ हुने सामुदायिक क्याम्पसको सञ्चालक समितिको एक सामान्य चुनाव असामान्यजस्तो देखिएको छ ।
पूर्व संविधानसभा सदस्य रेवतीरमण भण्डारीका साथै स्थानीय जनप्रतिनिधिदेखि शक्तिशाली नेताहरूको उम्मेद्वारीका कारण सञ्चालक समितिको चुनाव चर्चामा छ ।
१३ जना कार्यसमिति चयन गर्न नेकपा र नेपाली काङ्ग्रेसले सहमति जुटाएका छन् । नेकपाबाट अध्यक्षसहित ५ जना र काङ्ग्रेसबाट उपाध्यक्ष र कोषाध्यक्षसहित ८ जनाको टिम बने पनि सर्वसम्मत हुन सकेन ।
५ सय १३ परिषद सदस्यमध्ये२ जनाले नेकपा र काङ्ग्रेसको साझा सहमति मानेनन् । पहिले सदस्य चयन भएपछि पदाधिकारी चयन हुने कार्यसमितिमा २ जनाको असन्तुष्टिले चुनावै हुने अवस्था आयो ।
पूर्व अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य हेमसागर तिम्सिना र वैद्य नेतृत्वकोनेकपा (क्रान्तिकारी) का केन्द्रीय सदस्य यज्ञबहादुर कट्वाल (गणेश) ले स्वतन्त्र उमेद्वारी दिएका छन् । आफूहरूको राजनीतिक आस्था र सक्रियता भएपनि सामुदायिक क्याम्पसमा नाजायज राजनीति पसेकेले आफूले उम्मेद्वारी दिएको कट्वाल बताउँछन् ।
जनता क्याम्पसको सञ्चालक समितिमा बस्ने, निजी प्रोफाइल बनाउने तर क्याम्पसलाई समय नदिनेको विरुद्ध आफूले सदस्यमा उम्मेद्वारी दिएको उनी बताउँछन् । भन्छन्, ‘सामुदायिक क्याम्पस भनेर कर्पोरेट शिक्षा मात्रै ल्याउने, समय दिन नसक्ने, भागबण्डाको थलो बनाउने र सिण्डिकेट चलाउने कुराको विरोधमा मैले स्वतन्त्र उम्मेद्वारी दिएको हुँ ।’ सामुदायिक क्याम्पसमा दलीय भागबण्डाको अन्त्य गराउन आफूले उम्मेद्वारी दिएको कट्वालको तर्क छ ।
पूर्व विद्यार्थी नेता हेमसागर तिम्सिनाले आफ्नो वडामा भएको क्याम्पसमा आफूले विद्यार्थी जीवन पनि बिताएकाले सबै समस्या र त्यसको समाधान थाहा भएकाले सञ्चालक समितिमा आउन चाहेको बताए । केही दल मिलेर क्याम्पसमा आफ्नो हैकम जमाउन खोजेको र ५ सय १३ परिषद सदस्यको अपमान गरेको हुनाले आफू चुनावी मैदानमा आएको तिम्सिना बताउँछन् ।
‘दुई दलका केही नेता मिल्दैमा उनीहरूले टिपेर ल्याएका मान्छे मात्रै सञ्चालक समितिमा राख्दै परिषद सदस्यलाई कमजोर पार्ने कामको मैले विरोध गर्दै स्वतन्त्र उम्मेद्वारी दिएको हुँ ।’
जनता क्याम्पस धेरै विकृति र विसङ्गतिको कारणले थिलथिलो भएकाले त्यो अन्त्य गर्न आफूले स्वतन्त्र उम्मेद्वारी भएको उनले दोहो¥याए ।

कोको छन् नेकपा र काङ्ग्रेसका १३ जना उम्मेद्वार?

५ सय १३ परिषद् सदस्यको जनमतबाट १३ सदस्यीय कार्यसमितिमा चुनिएर मात्रै सञ्चालक समितिका पदाधिकारी चयन हुन्छन् । पूर्ण समिति चुनिएपछि समितिले ४ जना मनोनयन समेत गर्छ ।
अध्यक्ष, उपाध्यक्ष र कोषाध्यक्ष जस्ता पदाधिकारी निर्वाचित समितिबाट बन्छन् भने सदस्य सचिव क्याम्पस प्रमुख रहन्छन् । यो समिति बनाउन नेकपा र नेपाली काङ्ग्रेसले अगाडि सारेका १३ उम्मेद्वारहरू यीहुन्ः
१. रेवतीरमण भण्डारी
२. विकास केसी
३. देवुप्रसाद निरौला
४. शिवराज दाहाल
५. ईश्वर भट्टराई
६. रेवतीप्रसाद घिमिरे
७. ज्योति कोइराला
८. प्रमोद भट्टराई
९. तीर्थराज पराजुली्
१०. भीमप्रसाद सुवेदी (सागर)
११. चन्द्र भट्टराई
१२. युगप्रिय निरौला
१३. आकाशहाङ लिम्बू