इटहरीः पत्रकार महासङ्घ सुनसरीले जिल्लाभित्र कार्यरत ७ जना पत्रकारहरूलाई पुरस्कार र सम्मान तथा १३ जना पत्रकारलाई लेखनवृति प्रदान गरेको छ । ७ जनालाई सम्मानसँंगै सोमबार महासङ्घले विभिन्न स्थानीय तहको सहयोगमा ११ जना पत्रकारलाई जनही २५ हजारको लेखनवृत्ति रकम प्रदान गरेको हो ।
इटहरी उपमहानगरपालिकाको सहयोगमा कृष्ण भट्टराई जुनेली र रोमा रिजालले जनही ३५ हजार, इनरुवा नगरपालिकाको सहयोगमा प्रमोद यादव र मिकाइल आलमले जनही २१ हजार रुपैयाँ र धरान उपमहानगरपालिकाको सहयोगमा शेखरनाथ योगी र केदार बस्नेतलाई जनही १५ हजार रुपैयाँको पुरस्कार प्रदान गरिएको थियो ।
त्यसैगरी, शालिग्राम पाण्डे र मेनुका पाण्डेको सहयोगमा ११ हजार १ सय ११ रुपैयाँ राशीको चन्द्र–लक्ष्मी सिर्जनशील पत्रकारिता पुरस्कार मनिता चाम्लिङले पाइन् ।
अग्रज पत्रकारहरू हर्ष सुब्बा र राजकुमार कार्कीलाई धरान उपमहानगरपालिकाको सहयोगमा जनही २० हजार रुपैयाँ प्रदान गरिएको थियो ।
कार्यक्रममा इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतम, धरान उपमहानगरपालिकाका कार्यवाहक मेयर नरेश इवराम, नेपाल पत्रकार महासङ्घका केन्द्रीय महासचिव रमेश विष्ट, पत्रकार महासङ्घ प्रदेश १ संयोजक विक्रम लुइँटेलको उपस्थिति थियो ।