इटहरीः २०४५ असार ३१ गते स्थापना भएको इटहरीको जनता बहुमुखी क्याम्पसको चुनाव आज हुँदैछ । निर्वाचन समिति सदस्यका अनुसार चुनाव आज बिहान ८ बजेदेखि ३ बजेसम्म क्याम्पस परिसरमा हुनेछ ।

तीन वर्षे कार्यकालका लागि ५ सय १३ परिषद सदस्यले ४ हजार ५ सय विद्यार्थी अध्ययन गर्ने क्याम्पसको व्यवस्थापन समिति चयन गर्दैछन् । गत ९ गते सञ्चालक समितिको उम्मेद्वारको मनोनयन भएको थियो ।
नेकपा इटहरी र नेपाली काङ्ग्रेस इटहरीले संयुक्त रूपमा उमेद्वारी दिएका छन् । संयुक्त उमेद्वारी मनोनयन गर्ने उमेद्वारमा पूर्व संविधानसभा सदस्य रेवतीरमण भण्डारी, इटहरी–४ का वडाध्यक्ष चन्द्रप्रसाद भट्टराई, नेकपाका जिल्ला कमिटी सुनसरी सदस्य भीमप्रसाद सुवेदी सागर र नेपाली काङ्ग्रेसको विद्यार्थी सङ्गठन नेपाल विद्यार्थी सङ्घका केन्द्रीय उपाध्यक्ष विकास केसीलगायतरहेका छन् ।
पूर्व एमालेका इटहरी उपमहानगर अध्यक्ष तथा नेकपा इटहरीका नेता रेवती घिमिरे र नेपाली काङ्ग्रेस इटहरीका उपसभापति शिवराज दाहालले पनि सञ्चालक समितिमा उमेद्वारी दिएका छन् ।
चुनावको लागि नेकपा र नेपाली काङ्ग्रेसले संयुक्त प्यानल बनाएको छ भने २ जना स्वतन्त्र उम्मेद्वार उठेका छन् । संयुक्त प्यानलका अन्यउमेद्वारहरुमा देवुप्रसाद निरौला,ईश्वर भट्टराई,ज्योति कोइराला, प्रमोद भट्टराई, तीर्थराज पराजुली, युगप्रिय निरौला र आकाशहाङ लिम्बू रहेका छन् ।
चुनावमा पूर्व विद्यार्थी नेता हेमसागर तिम्सिना र यज्ञबहादुर कट्वाल (गणेश)ले भने स्वतन्त्र उम्मेद्वारी दिएका छन् ।

यसरी बन्छ जनता क्याम्पसको पूर्ण व्यवस्थापन समिति
जनता बहुमुखी क्याम्पसको सञ्चालक समिति १३ जनाको हुन्छ । १३ सदस्य चुनिएपछि पादाधिकारी चुनिन्छन् र ४ जना नयाँ सदस्यको मनोनयन हुन्छ । चुनावमा ५ सय १३ परिषद सदस्यले मतदान गर्न पाउँछन् ।
मतदानबाट सबै सदस्यको रूपमा चुनिने र पछि अध्यक्ष, उपाध्यक्ष, सदस्य सचिव र कोषाध्यक्ष चयन हुनेछ । अध्यक्षमा रेवतीरमण भण्डारी हुने पक्का भएको छ । सञ्चालक समितिको सदस्य सचिवमा भने क्याम्पस प्रमुख पदेन रूपमा हुन्छन् ।