धरानः धरान– ३ स्थित सब्जीमण्डी नजिकै बेवारिसे अवस्थामा रहेका ७५ वर्षीय व्यक्तिलाई सौन्दर्यकला व्यवसायी सङ्घ, धरानले उद्धार गरेको छ ।

पीपलको रुखमुनि बिरामी अवस्थामा भेटिएका उनलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगी उपचार गरिएको छ ।

उपचारपछि इटहरीस्थित माया घरमा राखिएको सौन्दर्यकला व्यवसायी सङ्घकी कोषाध्यक्ष सन्ध्या श्रेष्ठले बताइन् । २ महिना अघि करीब राती ११ बजेतिर टेम्पोमा ल्याएर उनलाई त्यहाँ छोडिएको बुझिएको छ । शुरुमा बोल्न नसक्ने अवस्थामा रहेका उनी उपचारपछि बोल्न सक्ने भएका थिए । उनको नाम जीतबहादुर तिरुवा भएको र उनको घर धनकुटाको पात्ले भएको उनले बताएका छन् ।

सङ्घको वार्षिक उत्सवको उपलक्ष्यमा पिण्डेश्वर बाबाधाममा जलपान वितरणका लागि फलफूल किन्न जाँदा उनलाई सङ्घकी सचिव नेविका शाहीले बेवारिसे अवस्थामा देखेपछि उद्धार गरिएको थियो । धरान वडा नं. २ का महिला सदस्य समेत रहेकी सङ्घकी कोषाध्यक्ष सन्ध्या श्रेष्ठले उनको उद्धारका लागि विशेष पहल गरेकी थिइन् ।

उपचारका लागि खर्च नहँुदा धरान–२ निवासी अनिल श्रेष्ठ र प्रतिष्ठानका सूचना तथा जनसम्पर्क प्रमुख सुजेन्द्र तामाङको सक्रियतामा उनको निःशुल्क उपचार गराइएको थियो ।

अहिले उनलाई इटहरीको मायाघरमा राखिएको र परिवारको खोजी भइरहेको सङ्घले जनाएको छ । सङ्घले मायाघरलाई २५ हजार रुपैयाँ सहयोग पनि गरेको सङ्घकी कोषाध्यक्ष सन्ध्या श्रेष्ठले बताइन् ।

uddahar  (1) uddahar  (2)