धरानः धरान १४ का जनप्रतिनिधिले भने आफ्नो क्षेत्रलाई ‘फ्रि वाइफाइ जोन’ बनाएका छन् । धरान–१४ का वडाअध्यक्ष कृष्णप्रसाद भट्टराईले आफ्नो सेवासुविधामार्फत् आएको खर्चबाट विजयपुर क्षेत्रका महत्वपूर्ण स्थानलाई फ्रि वाइफाई जोन बनाएका हुन् ।
धरान–१४ स्थित विजयपुरका ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेका मठमन्दिरमा आउने धार्मिक पर्यटकको सुविधाका लागि फ्रि वाइफाइ जोन बनाइएको वडाध्यक्ष कृष्णप्रसाद भट्टराईले बताए ।
विजयपुरमा देश तथा विदेशबाट समेत धार्मिक पर्यटक आउने गर्दछन् । उनीहरूले मन्दिर वा त्यस क्षेत्रमा खिचेका फोटो सामाजिक सञ्जालमा लगाउँदा तुरुन्तै प्रचारप्रसार गर्न सजिलो हुने भएकाले पनि फ्रि वाइफाइ जोन प्रभावकारी हुने भएको छ ।
वडाध्यक्ष भट्टराईले आफूले पाउने सेवा सुविधाबाट विजयपुर क्षेत्रमा रहेका ऐतिहासिक तथा धार्मिक महत्व बोकेका मठ मन्दिर र विजयपुरको मुख्य चोक विजयपुर चोक, बुढासुब्बा, पिण्डेश्वर मन्दिरमा फ्रि वाइफाइ जोन बनाइएको हो ।
अब चाँडै नै दन्तकाली मन्दिरमा पनि फ्रि वाइफाइ जोन बनाउने तयारी गरेको भट्टराईले बताए । उनले भने, ‘विजयपुर ऐतिहासिक र धार्मिक पर्यटकीय स्थल हो, यहाँ देश विदेशका भक्तजन आउने भएकाले यो क्षेत्रमा फ्रि वाइफाइ जोन बनाएर यो क्षेत्रको प्रबद्र्धन गर्ने उद्देश्यअनुसार यो अभियानको थालनी गरिएको हो ।’