इटहरीः इटहरी अस्पतालमा २४ घण्टे आकस्मिक (इमर्जेन्सी) सेवा शुरु भएको छ ।
आज सामाजिक विकास मन्त्री जीवन घिमिरेले आकस्मिक सेवाको उद्घाटन गरेका छन् । उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री घिमिरेले इटहरी आसपास र पहाडी जिल्लाका बासिन्दालाई सेवा लिन इटहरी अस्पताल उपयुक्त हुने बताए । इटहरी अस्पतालको स्तरोन्नतिका लागि प्रदेश सरकार तत्पर रहेको उनको भनाइ थियो ।
प्रदेश सांसद लीलम बस्नेत, संविधानसभाकी सांसद अनिता परियार, इटहरी उपमहानगरकी उपमेयर लक्ष्मी गौतम, नेपाली काङ्ग्रेस इटहरी सभापति हेमकर्ण पौडेल, वडाध्यक्ष भुपेन्द्र बराललगायतले कार्यक्रममा आफ्नो धारणा राखेका थिए ।
कार्यक्रमका अध्यक्ष इटहरी उपमहानगरका प्रमुख द्वारिकलाल चौधरीले इटहरीको विकास र समृद्धिले केही समयमै नयाँ उचाइ लिने बताए । कार्यक्रममा इटहरी अस्पतालकी प्रमुख डा. रोमी यादवले इटहरी अस्पतालवाट गत वर्ष ३७ हजार २९ जनाले सेवा लिएको बताइन् ।
२०२४ सालमा स्वास्थ्य चौकीका रूपमा स्थापना भई २०५३ सालदेखि प्राथमिक स्वास्थ्य केन्द्रका रूपमा रहेको सो अस्पताल २०७५ साल साउन १ गतेदेखि इटहरी अस्पतालमा रूपान्तरण भएको थियो । हाल अस्पतालमा १५ शैय्या रहेका छन् ।