विराटनगरः न्युरो कार्डियो एण्ड मल्टिस्पेसियालिटीको विस्तारित शाखा तुलसा मदर एण्ड चाइल्ड हस्पिटल र रोटरी क्लब अफ विराटनगर मिड टाउनको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
मदर एण्ड चाइल्ड शाखाको प्राङ्गणमा आयोजित रक्तदान कार्यक्रममा २५ पिन्ट रगत सङ्कलन भएको रोटरी क्लब अफ विराटनगर मिड टाउनका अध्यक्ष गंगा यादव बताएका छन् ।
नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा तुलसा हस्पिटलमा आयोजना गरिएको सो रक्तदान कार्यक्रममा अस्पतालका चिकित्सक तथा अन्य कर्मचारी र रोटरी क्लब अफ विराटनगर डाउन टाउनका पदाधिकारीले रक्तदान गरेका थिए । हस्पिटलका संस्थापक एवम् वरिष्ठ न्युरोलोजिष्ट डा. वीरेन्द्रकुमार विष्टले हस्पिटलको सामाजिक उत्तरदायित्व विषयमा जानकारी गराउँदै कार्यक्रमको औपचारिक शुभारम्भ गरेका थिए ।
त्यससँगै न्युरो हस्पिटलका मेडिकल डाइरेक्टर तथा वरिष्ठ न्युरो सर्जन डा. यमबहादुर रोकाले रक्तदान गरी कार्यक्रम उद्घाटन गरिएको थियो । हस्पिटलका वरिष्ठ प्याथोलोजिस्ट डा. सागरराज पाण्डेले रक्तदानबारे प्रकाश पारेका थिए ।
यता, न्युरो हस्पिटलका अपरेसनल डाइरेक्टर राजेश भट्टराईले आगामी दिनमा समेत न्युरो हस्पिटल र विभिन्न क्लबसँगको सहकार्यमा विभिन्न स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम गर्ने हस्पिटलको योजना रहेको बताए ।