इटहरीः इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले उपमहानगरले १४ महिनामा ३० किलोमिटर सडक पिच गर्न नसके आफूले राजीनामा दिने बताएका छन् ।
हाल इटहरीमा ११ ओटा सडक बहुवर्षीय योजनाअनुरूप निर्माण भइरहेको उनले बताए । ती सडक निर्माणपछि गाउँ र मुख्य सडकलाई पिच बाटोले जोड्ने छ । उपमहानगरका गाउँगाउँका जनतालाई पनि उपमहानगरवासी भएको अनुभूति दिलाउने गरी गाउँका मुख्यमुख्य बाटोलाई कालोपत्रे गर्ने कार्य भइरहेको उनले बताए ।
गत वर्ष इटहरी उपमहानगरले लगभग ७ सय सडक योजना सञ्चालन गरेको र चालु आर्थिक वर्षमा पनि प्राथमिकता दिइने उनले बताए । बाह्य चक्रपथ निर्माणका लागि सहयोग गर्न सङ्घ र प्रदेश सरकारसँग उनले आग्रह गरेका छन् । इटहरी उपमहानगरले सो चक्रपथको डीपीआर निर्माणका लागि ३ करोड रुपैयाँ छुट्याएको उनले बताए ।