उर्लाबारीः मोरङको उर्लाबारी–६ खानेपानी मार्गमा ३ किलोमिटर सडक ग्राभेल तथा मर्मत गरिएको छ ।

पूर्वाधार विकास कार्यालय प्रदेश नं. १ को ५० लाख रुपैयाँ र उपभोक्ताबाट ७ लाख ७ हजार ७ सय ७१ रुपैयाँको लागतमा सो सडक ग्राभेल तथा मर्मत गरिएको हो ।

सो सडक ग्राभेल तथा मर्मतको मोरङ क्षेत्र नं. १ का प्रदेश सांसद कुलप्रसाद साम्बा लिम्बू (कुशल) ले निरीक्षण गरेका छन् । त्यस्तै, उर्लाबारी–६ कै खानेपानी पूर्वको सञ्चार मार्गको सडक पनि ग्राभेल गरिएको छ ।

पूर्वाधार विकास कार्यालय प्रदेश नं. १ को ५ लाख रुपैयाँ र उपभोक्ताबाट ६१ हजार रुपैयाँ लागतमा ४ सय मिटर ग्राभेल गरिएको उपभोक्ता समितिका अध्यक्ष घनश्याम भण्डारीले जानकारी दिए । उक्त सडकको पनि सांसद लिम्बूले निरीक्षण गरे ।

त्यस्तै, उर्लाबारी–४ थापाडाँगी हुँदै मधुमल्ला जाने पुरानो सडक ग्राभेल तथा मर्मतको पनि सांसद लिम्बूले निरीक्षण गरे । पूर्वाधार विकास कार्यालय प्रदेश नं. १ को २० लाख र उपभोक्ताको २ लाख ८५ हजार रुपैयाँ लागतमा सो सडक ग्राभेल तथा मर्मत गरिएको उपभोक्ता समितिका अध्यक्ष मनोज नेपालले जानकारी दिए । निरीक्षणको क्रममा सांसद लिम्बूले जनताको एक रुपैयाँ पनि तलमाथि गर्न नहुने भन्दै गुणस्तरीय काममा ध्यान दिनुपर्नेमा जोड दिए ।