इटहरीः २५ औँ ‘प्रकाश मानव अधिकार पुरस्कार’ मोरङका सामाजिक अभियन्ता गुरू बराललाई प्रदान गरिएको छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का संस्थापक महासचिवस्वर्गीय प्रकाश काफ्लेको २७ औँ स्मृति दिवसका अवसरमा सो पुरस्कार प्रदान गरिएको हो ।
विराटनगरमा आयोजित कार्यक्रममा बराललाई १ नम्बर प्रदेश प्रमुख प्रा.डा. गोविन्दबहादुर तुम्बाहाङ, मुख्यमन्त्री शेरधन राई, इन्सेक अध्यक्ष डा.इन्दिरा श्रेष्ठलगायतले ताम्रपत्र र नगदसहित इन्सेक चिह्न प्रदान गर्दै सम्मान गरे ।
कार्यक्रमका प्रमुख अतिथि प्रदेश प्रमुख तुम्बाहाङले पहिलेको समयभन्दा अहिले मानव अधिकारको क्षेत्र व्यापक बन्दै गएको बताए । नेपालमा मानव अधिकार आन्दोलन स्थापित हुने क्रममा रहेको र त्यसमा इन्सेकको भूमिका उल्लेखनीय भएको उनको भनाइ थियो ।
सो अवसरमा मुख्यमन्त्री शेरधन राईले संविधानमै मौलिक अधिकारको व्यवस्था भएको नेपालको संविधान मानवअधिकारमैत्री भएको बताए । मानव अधिकारको पूर्ण प्रत्याभूति र संविधानमा व्यवस्था भएका कुराहरूलाई अक्षरशः पालना गर्दै जनताको अधिकार स्थापित गर्न प्रतिबद्घ रहेको मुख्यमन्त्री राईको भनाइ थियो ।
कार्यक्रममा इन्सेक अध्यक्ष श्रेष्ठले नेपालमा मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरूलाई इन्सेकले अभिलेख गरेर नेपालमा मानव अधिकारको अवस्था चित्रण गर्दै आएको बताइन् । समाजमा महिला र बालबालिकाका हिंसाका घटनाबाट बढी पीडित भएका र महिला र बालबालिकाको साथै अन्यको अधिकार रक्षाको क्षेत्रमा योगदान गर्नेहरूलाई इन्सेकले सदैव हौसला प्रदान गर्नेे क्रममा यस पटक बराललाई सम्मान गरिएको उनको भनाइ थियो ।
इन्सेकका संस्थापक अध्यक्ष तथा राष्ट्रपतिका राजनीतिक सल्लाहकार सुशील प्याकुरेलले इन्सेकले मानव अधिकारको क्षेत्रमा छुट्टै पहिचान बनाएको र मानव अधिकारको परिभाषालाई जीवन्त तुल्याउनेहरूलाई खोजी–खोजी पुरस्कार वितरण गरिरहेको बताए ।
नेपालमा निर्वाचनलाई स्वच्छ बनाउनका लागि स्व. प्रकाश काफ्लेले निर्वाचन पर्यवेक्षणको पहिलो अभियान थालेको र सोही अभियानलाई अहिले विश्वका केही देशहरूले अनुशरण गरी निर्वाचन पर्यवेक्षण गर्न थालेको प्याकुरेलले बताए ।
सो अवसरमा बोल्दै प्रदेश सभा सदस्य तथा समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य जयराम यादवले सबै खाले भेदभावको अन्त्य भएमात्रै मानव अधिकारको सही रूपमा प्रत्याभूति हुने बताए ।
इन्सेकका निर्वतमान अध्यक्ष तथा प्रदेश १ नीति तथा योजनाका आयोगका उपाध्यक्ष सुबोधराज प्याकुरेलले पूर्ण मानव अधिकारकर्मी मात्र नभई अन्य क्षेत्रमा लागेर जनताको हक अधिकारका लागि जनतालाई नै परिचालन गरी मानव अधिकारको प्रत्याभूति गराउनेलाई पनि सम्मान गर्ने गरेको बताए ।
उद्योग सङ्गठन मोरङका अध्यक्ष भीम घिमिरेले कुनै पनि दाग नलागी राजनीति गर्दै आएका बरालले शिक्षाको क्षेत्रमा पु¥याएको योगदान अतुलनीय रहेको बताए ।
सम्मानित बरालले अहिले पनि धेरै बालबालिका गुणस्तरीय शिक्षाबाट वञ्चित भएको बताए । उनले सरकारले प्राविधिक शिक्षा र गुणस्तरीय शिक्षा प्रदान नगरेका कारण गरिबीको रेखा माथि उक्लन नसकेको बताए । इन्सेकले प्रदान गरेको ५० हजार पुरस्कार राशीलाई सामुदायिक विद्यालयको गुणस्तर सुधारमा लगाउने उनले बताए ।
सो अवसरमा पुरस्कृत व्यक्तित्वको बारेमा छनोट समिति संयोजक रहेका इन्सेकका महासचिव रमेशचन्द्र पौड्यालले चर्चा गरे । विपन्न परिवार र समाजमा बरालले पु¥याएको योगदानको बारेमा इन्सेकले तयार पारेको वृत्तचित्र समेत प्रदर्शन गरिएको थियो ।