इटहरीः इटहरी उपमहानगरपालिकामा केही दिनदेखि देखा परेको डेङ्गुको सङ्क्रमणका कारण २ सय जना भन्दा बढी प्रभावित भएका छन् ।

यति धेरै व्यक्ति प्रभावित हुँदा पनि इटहरी उपमहानगरपालिका भने अझै मौन छ । यता, नेपाल तरुण दल सुनसरीले भने डेङ्गुको महामारी नियन्त्रणका लागि डेङ्गु नियन्त्रण गर्ने विषादी छर्कने काम शुरु गरेको छ ।

धरानबाट शुरु भएको डेङ्गुका कारण अहिलेसम्म १ हजार ५ सय भन्दा बढी सङ्क्रमित भइसकेका छन् । पछिल्लो समय इटहरीमा फैलिँदै गएको संक्रमणलाई नियन्त्रण गर्न भन्दै शनिबार तरुण दल सुनसरीले आफ्नै स्रोत तथा जनशक्तिको परिचालन गरी इटहरी– ३ मा डेङ्गु नियन्त्रण गर्ने विषादी छर्किएको छ ।

प्राणघातक डेङ्गुले चाँडै महामारीको रूप लिने भएकाले बेलैमा सतर्कता अपनाउन नियन्त्रणको लागि काम गरिएको तरुण दल सुनसरी अध्यक्ष सिजन गुरुङले बताए ।

यसअघि पनि तरुण दलले इटहरीको वडा नम्बर २० मा डेङ्गु नियन्त्रणको अभ्यास गरेको थियो । स्थानीय सरकारले डेङ्गु नियन्त्रणका लागि खासै चासो नदिएपछि इटहरीका सम्पूर्ण वडामा नियन्त्रणको लागि पहल गरेको उनको भनाइ छ ।

यसै क्रममा आज आइतबार अपराह्न्न ४ बजेपछि इटहरीको वडा नं ५ मा विषादी छर्कने कार्यक्रम रहेको गुरुङले बताए ।