विराटनगरः विराटनगरको नोबेल शिक्षण अस्पतालले प्याङ्क्रियाज ग्रन्थिमा भएको क्यान्सरको सफलतापूर्वक शल्यक्रिया गरेको छ । झापाको बिर्तामोड नगरपालिका–३ आदर्शनगरकी ६९ वर्षीया सरस्वता ढकालको प्याङ्क्रियाज ग्रन्थिमा भएको क्यान्सरको अप्रेसन सफलतापूर्वक गरिएको हो ।
ठूलो आन्द्राको भाग, प्याङ्क्रियाज ग्रन्थि र पित्तको नली काटेर जोड्नुपर्ने हुनाले यो अप्रेसन जटिल हुने गरेको नोबेल अस्पतालका डा.रोहितप्रसाद यादवले बताए । डा. यादवका अनुसार प्याङ्क्रियाज ग्रन्थि काट्ने क्रममा सँगै रहेका धमनीमा चोट लाग्ने सम्भावना धेरै हुन्छ । चोट लागेमा बिरामीको ज्यान नै जान सक्छ । काटेर नयाँ तरिकाले जोड्नुपर्ने हुनाले राम्रोसँग नजोडिँदा बिरामीको ज्यान बचाउन गाह्रो पर्ने डा. यादव बताउँछन् । तर, नोबेलमा डा. यादव नेतृत्वको चिकित्सकहरुको टोलीले ढकालको जटिल अप्रेसन सफलतापूर्वक गरेको जनाएको छ ।