धरानः धरानस्थित शिखर युवा समाजको आयोजनामा भएको उद्घोषण तालीम सम्पन्न भएको छ ।

नेपाल रेडक्रस सोसाइटी सुनसरीको सभाहलमा सम्पन्न उद्घोषण तालीममा धरानका ३५ जना सहभागी भएका थिए । उनीहरूलाई सुनसरी उद्योग वाणिज्य सङ्घका कार्यसमिति सदस्य विष्णु बराल र लायन्स क्लब अफ बुढासुब्बाका पूर्व अध्यक्ष दीपेन्द्र निरौलाले प्रशिक्षण दिएका थिए ।

उद्घोषण तालीमका सहभागीहरूले सिकाइको क्रम कहिल्यै नटुङ्गिने र सिकुञ्जेल युवा नै रहने बताए । आफूभित्रको प्रतिभा पहिचान गर्न तालीमले सहज बनाएको उनीहरूको भनाइ थियो ।

समाजका अध्यक्ष युनेश राना मगरको सभापतित्वमा सम्पन्न तालीमको प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटी सुनसरीका सभापति उमेश थापा रहेका थिए । कार्यक्रममा शारा थापा स्मृति प्रतिष्ठानका अध्यक्ष वीरेन्द्र सिंह थापा, नेपाल रेडक्रस सोसाइटी सुनसरीका सदस्य श्याम पोख्रेल तथा वडा सदस्य रहिसा कसजूको समेत उपस्थिति रहेको थियो ।