विराटनगरः मोरङका ७ ओटा विद्यालयमा किशोरी परियोजना कार्यक्रम सञ्चालनमा छ । ती विद्यालयमा अध्ययनरत विद्यार्थीको लागि आराम कक्ष निर्माण भइरहेको छ ।
मोरङको ग्रामथान, कटहरी, सुन्दरहरैंचा र विराटनगरका ७ विद्यालयमा किशोरी परियोजना सञ्चालनमा छ । बुढीगंगा गाउँपालिकाका नारायण मावि, सरस्वती मावि र लक्ष्मी मावि, कटहरी गाउँपालिकाको प्रजातन्त्र मावि र विराटनगर १९ को सार्वजनिक माविमा यो कार्यक्रम सञ्चालित छ ।
मोरङको ग्रामथान गाउँपालिका वडा नम्बर १ स्थित बेगनलाल आधारभूत विद्यालयका विद्यार्थीको लागि आराम कक्ष निर्माण गरिएको छ । विद्यार्थी अस्वस्थ भएमा अथवा उनीहरूलाई असहज महसुुस भएमा सुत्न र बस्नका लागि आराम कक्ष सञ्चालनमा ल्याइएको हो ।
विद्यालयका प्रधानाध्यापक कृष्णहरि घिमिरेका अनुसार २ तले विद्यालय भवनको माथिल्लो कक्षको एउटा हल नै विद्यार्थीको आराम गर्ने कक्षको रूपमा विकास गरिएको छ । जहाँ लो बेडसमेत राखिएको छ ।
घिमिरेका अनुसार लखन्तरी र बैजनाथपुर क्षेत्रमा बसोबास गर्ने अधिकतर सीमान्तकृत मुसहर र मधेसी दलित सरदार समुदायका विद्यार्थी बेगनलालमा पढ्छन् । दाता संस्था वल्र्ड भिजनले निर्माण गरिदिएको भवनमा नारी विकास सङ्घले आराम कक्षमा बेड, म्याट्रिक्ङ, झ्याल ढोका निर्माण गर्न सहयोग गरेको सङ्घकी कार्यक्रम संयोजक सरिता अधिकारीले बताइन् । विगत १ वर्षदेखि किशोरी परियोजनाअन्तर्गत शौचालय निर्माण, सेनिटरी प्याड जस्ता शीर्षकमा पनि सहयोग गरिएको उनको भनाइ छ ।