बिर्तामोडः साउन १४ गतेदेखि बेपत्ता भएका झापा बिर्तामोड–४ का दुई किशोरी भारतको पूर्णियामा फेला परेका छन् ।

इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक मोहन थापाका अनुसार इन्टरपोलसँगको सहकार्यमा १६ वर्षीया र १४ वर्षीया दिदीबहिनी फेला परेका हुन् ।

स्थानीय ग्लोरी अङ्ग्रेजी बोर्डिङमा अध्ययनरत उनीहरू विद्यालयबाट घर नफर्केपछि परिवारले प्रहरीलाई खबर गरेको थियो । सूचना पाएलगत्तै उनीहरूको खोजी कार्य तीव्र पारिएको प्रहरी नायब उपरीक्षक थापाले बताए ।

भारतीय प्रहरी र माइती नेपालसँग सहकार्य गरी उनीहरूको खोजी गरेको थापाले बताए । उनीहरूले बोकेको मोबाइलमा भारतको लखनउ ट्रयाक गरेपछि भारतीय प्रहरीसँग समन्वय गर्न प्रहरी प्रधान कार्यालय र नेपालको इन्टरपोलले भारतको इन्टरपोलसँग सम्पर्क गरेको थियो । उनीहरूलाई आजै नेपाल ल्याइने प्रहरीको भनाइ छ ।