इटहरीः संसद विकास कोषको बजेटबाट सुनसरी क्षेत्र नम्बर २ (ख) का सांसद राजीव कोइरालाले सेल्फी पुल निर्माण गरेका छन् ।

प्रदेश १ को नेपाली काङ्ग्रेस संसदीय दलका नेता समेत रहेका कोइरालाको पहलमा रामधुनी नगरपालिकास्थित झुम्का बजारमा पुल निर्माण भएको हो ।

‘झुम्का सेल्फी ब्रिज’ नाम दिइएको सो पुलको उद्घाटन कोइरालाले गरे । कार्यक्रममा बोल्दै कोइरालाले नवनिर्मित पुलले झुम्का बजारमा आवतजावत गर्ने सर्वसाधारणलाई सहज हुने बताए ।

पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष सतेन्द्र न्यौपानेले कोइरालाको सांसद कोषको बजेटबाट २४ लाख ७५ हजार र जनसहभागिताबाट ४ लाख ९५ हजारको लागतमा पुल निर्माण भएको बताए ।

नेपाली काङ्ग्रेस रामधुनीका सभापति सुदीप अधिकारीले पुलको निर्माण भएपछि बजार क्षेत्रका नागरिकलाई धेरै फाइदा हुने बताए । पछि बाटो ठूलो बनाउँदा सार्न मिल्ने भएकाले पुलको उपयोगिता लामो समयसम्म हुने उनको भनाइ थियो ।

पुल उद्घाटन कार्यक्रममा रामधुनी नगर प्रमुख जयप्रकाश चौधरी, सांसद ज्योति सुब्बा, काङ्ग्रेस नेता डिल्ली कार्की, महिला सङ्घ सभापति विजया कटवाल लगायत रामधुनीका नेता, समाजसेवी र सर्वसाधारणको उपस्थिति थियो ।

selfi bridge jhumka  (2)