भोजपुरः पहाडी जिल्ला भोजपुरमा पनि डेङ्गुका बिरामी फेला परेका छन् । टेम्केमैयुङ गाउँपालिका–३ अन्नपूर्णकी ३७ वर्षीया लुइँटेल थरकी एक महिलामा डेङ्गुको सङ्क्रमण देखिएको हो ।
केही समय अघि उनी बिरामी परेपछि स्थानीयस्तरमा उपचार गरी थप उपचारका लागि नोबेल अस्पताल विराटनगर लगिएको थियो । नोबेलमा उपचार गराउँदा उनमा डेङ्गुको सङ्क्रमण देखिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । उनको नोबेलमा उपचार भइरहेको छ ।
आफ्नो गाउँपालिकामा डेङ्गुका बिरामी देखिएपछि थप सजगता अपनाइएको तथा स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थालाई सतर्क अपनाउन भनिएको गाउँपालिकाका प्रमुख ध्रुवराज राईले बताए । स्थानीयलाई समेत सजग रहन आग्रह गरिएको प्रमुख राईले बताए ।