उर्लाबारीः क्यान्सर रोगबाट पीडित मोरङको कानेपोखरी गाउँपालिका वडा नं. ६ की ३४ वर्षीया सम्झना लावती थेगिमले आफ्नो उपचारको लागि सहयोगको याचना गरेकी छिन् ।

स्तन क्यान्सर भई २० महिनादेखि ललितपुरस्थित नेपाल क्यान्सर अस्पतालमा उपचाररत सम्झनाको हाल फोक्सोमा समेत क्यान्सर देखिएपछि परिवारले सहयोगको याचना गरेको हो । हालसम्म परिवार तथा आफन्तको सहयोगमा उपचाररत रहेकी सम्झनाको नेपालमा उपचार सम्भव नभएपछि भारतको राजस्थान लैजान डाक्टरले सल्लाह दिएका छन् ।

सम्झनालाई उपचारका लागि भारत लैजाने पैसाको अभाव भएको परिवारले जनाएको छ । खर्च अभावकै कारण उपचारमा समस्या भएको र सबै सहयोगी मनलाई सहयोगका लागि अपिल गरेको सम्झनाका पति अर्जुन थेगिमले बताए । हालसम्म सम्झनाको उपचारका लागि २० लाख रुपैयाँ खर्च भइसकेको उनले जानकारी दिए । आफन्त तथा परिवारको सहयोगले २० महिनासम्म उपचार गर्दै आएको उनले बताए ।