इटहरीः आज साँझ पौने ५ बजे सुनसरीको इनरुवा–४ स्थित पूर्वपश्चिम लोकमार्गमा भएको दुर्घटनामा मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको छ । मोटरसाइकलको पछाडि सवार गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

पश्चिमतर्फ जाँदै गरेको युपी ४१ सी ८२३४ नम्बरको भारतीय ट्रकले पूर्वतर्फ आउँदै गरेको को १९ प १७३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक सुनसरीको इनरुवा– १ का २९ वर्षीय राम शर्माको घटनास्थलमै मृत्यु भएको हो ।

प्रहरीका अनुसार मोटरसाइकलको पछाडि सवार इनरुवा–९ का ४० वर्षीय मदन मेहता गम्भीर घाइते भएका छन् । उनको उपचार विराटनगरको गोल्डेन अस्पतालमा भइरहेको छ ।

दुर्घटनामा परेका दुवै सवारी साधन तथा ट्रकका चालक भारतको उत्तर प्रदेशको बाह्रवंशीका २४ वर्षीय तोसेल मियालाई जिल्ला प्रहरी कार्यालय सुनसरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।