धरानः धरानस्थित एम्स कलेजमा अध्ययन गरी जिल्लामै उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई कलेजले सम्मान गरेको छ ।
कक्षा १२ को परीक्षामा व्यवस्थापन सङ्कायमा जिल्लामै उत्कृष्ट अङ्क ल्याउने मौसम लिम्बूलाई धरान–१२ स्थित एम्स कलेजमा नगद ५ हजार ५ सय ५५ रुपैयाँसहित मायाको चिनोले सम्मान गरिएको हो । कार्यक्रममा कक्षा १२ उत्तीर्ण अन्य विद्यार्थीसहित शिक्षकलाई पनि कलेजले सम्मान गरेको थियो । कलेजको तर्फबाट उत्कृष्ट नतिजा ल्याउन अध्यापनमा योगदान पु¥याउने शिक्षकहरू प्रमोद श्रेष्ठ, मनकुमार राई र किशोर भण्डारीलाई समेत मायाको चिनोले सम्मान गरिएको थियो ।
नयाँ व्यवस्थापन आएसँगै कलेजको शिक्षण पद्धतिमा सुधार गरी परीक्षामा सुनसरी जिल्लामा नै उत्कृष्ट नतिजा ल्याउन सफल भएकोमा शिक्षक प्रमोद श्रेष्ठले बधाई ज्ञापन गरेका थिए । उनले शिक्षकलाई पनि सम्मान गरिएको प्रति कलेजलाई विशेष आभार व्यक्त गरे ।
कार्यक्रममा उत्कृष्ट अङ्क सहित उत्तीर्ण हुने विद्यार्थीलाई प्राचार्य मित्र तामाङ, सह–प्राचार्य सन्देश पौडेल, निर्देशक अनुप तामाङ, प्रशासक नवीन राई लगायतले मायाको चिनो र खादाले सम्मान गरेका थिए । कलेजका अध्यक्ष प्रकाश राईको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण सन्तोष कोइरालाले गरेका थिए ।