धरानः जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने १ जनालाई इलाका प्रहरी कार्यालय धरानले पक्राउ गरी सार्वजनिक गरेको छ ।

खोटाङको हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर २ घर भएका ३५ वर्षीय सम्बरबहादुर राईलाई पक्राउ गरिएको कार्यालयले जनाएको छ ।

उनी ब्रिटिस गोर्खा एरिया वेलफेयर सेन्टर जिरीखिम्ती तेह्रथुममा कार्यालय सहयोगीको रुपमा रहेको बताइएको छ । प्रहरीका अनुसार उनले धरान–५ खैरेनीकी २७ वर्षीया खुसुमाया मग्रातीका श्रीमान्लाई जागिर लगाइदिने भन्दै हिजो साँझ ५ बजे १२ हजार रुपैयाँ लिएका थिए । उनलाई सुनसरी जिल्ला अदालतबाट ठगी मुद्दामा म्याद थप गरी कारवाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।