बेलबारीः सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले आज मोरङको सुन्दरहरैचामा नेकपा नगरकमिटिका पदाधिकारीहरुलाई शपथ ग्रहण गराएका छन् । सुन्दरहरैंचामा ८९ सदस्यीय नगर कमिटी गठन भएको छ ।
शपथ ग्रहणमा उनले भ्रष्टाचार गर्ने जो कोहीलाई पनि नछोड्ने बताए । तर, बालुवाटारको सार्वजनिक जग्गा बिक्रीमा नेकपा महासचिव विष्णु पौडेलको संलग्नताको विषयमा भने उनले केही पनि भनेनन् ।
मन्त्री पण्डितले सरकारको बचाउ गर्न समेत कार्यकर्तालाई निर्देशन दिए । आफ्नै कार्यकर्ताले धेरै सामाजिक सञ्जालमा सरकारको विरोध गरेको मन्त्री पण्डितको तर्क थियो । साइकल मन्त्रीको प्रसङ्ग निकाल्दै उनले आफ्नै कार्यकर्ताले सामाजिक सञ्जालमा आफ्नो खिल्ली उडाउँदा दुःख लागेको बताए । उनले आफूले दैनिक बिहान २ घण्टा साइकल कुदाउने गरेको समेत बताए । ‘मन्त्री हुँदा विभिन्न कार्यक्रममा जानुपर्छ कहिले हेलिकोप्टर त कहिले गाडी चढ्नुपर्छ’, मन्त्री पण्डितले भने, ‘धेरै टाढा हिँड्नु नपरे म साइकल नै चढ्ने थिएँ ।