बेलबारीः मोरङको बेलबारी–१ मा रहेको सांस्कृतिक भवनामा शुक्रबार भिन्न प्रकारको कार्यक्रम सञ्चालन गरिएको थियो । विभिन्न कार्यक्रम गरी २३ औं आदिवासी दिवस मनाइरहँदा त्यहाँ भने एक निजी विद्यालयका विद्यार्थी जातीय वेशभूषामा देखिन्थे ।

उनीहरू आआफ्नै भाषामा उपस्थितलाई सम्बोधन समेत गरिरहेका थिए । सगरमाथा इङ्लिस स्कुल बेलबारीले गरेको कार्यक्रममा तान्छोमा राईले राई भाषाबाटै आफ्नो संस्कार र संस्कृतिको बारेमा जानकारी गराइरहेका थिए ।

स्वस्तिका मगरले मगर जातिको रहनसहन वेशभूषा र चाडपर्वका बारेमा जानकारी गराएकी थिइन् । यस्तै युगेन गुरुङले गुरुङ र सहिल धिमालले धिमाल जातिका बारेमा जानकारी गराइरहेका थिए । तामाङ तथा नेपाली भाषाका बारेमा समेत विद्यार्थीले अविभावकलाई सुनाइरेहका थिए ।

उनीहरूले आआफ्नै जातीय पोशाकसमेत लगाएका थिए । पछिल्लो समय विभिन्न जातीय सङ्घसंस्था मात्रै नभई शैक्षिक संस्थाले समेत जातीय पोशाक तथा धर्म, संस्कार र संस्कृतिको संरक्षण समेत थालेका छन् ।

जातीय पहिरनमा धिमाल, नेवार, मगर, गुरुङ, लिम्बू, तामाङ, मैथिली, गीतमा विद्यार्थीले नृत्य समेत प्रस्तुत गरेका थिए । 

gurung