उर्लाबारीः राष्ट्रिय युवा संघका केन्द्रीय अध्यक्ष तथा पार्टीका केन्द्रीय सदस्य रामप्रसाद सापकोटा (दिपशिखा) ले स्थानीय तहमा भइरहेका बेथितिका बारेमा भण्डाफोर अभियान चलाउनुपर्ने बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) उर्लाबारीको कार्यालयमा आयोजित भेटघाट कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । युवाहरूले खबरदारी नगर्ने हो भने व्यापक भ्रष्टाचार मौलाएर जाने खतरा रहेको उनले बताए । स्थानीय तहका जनप्रतिनिधि नै ठेकेदार बन्ने प्रवृति बढिरहेको उल्लेख गर्दै उनले खबरदारीमा युवाहरू एकजुट भएर लाग्न निर्देशन दिए ।

उनले पार्टी एकतासँग पद विभाजनमा समस्या भएको भए पनि त्यसलाई उचित रूपमा व्यवस्थापन गरेर जाने बताएका छन् । नेकपा सरकारले गरेका राम्रा कामको प्रचार र नराम्रा कामको खबरदारी गर्न युवाहरू लागि पर्नुपर्ने उल्लेख गर्दै उनले समृद्ध नेपाल निर्माण नेकपाको सरकार बाहेकबाट सम्भव नभएको पनि बताए ।