उर्लाबारीः नेपाल आदिवासी जनजाति महासङ्घका पूर्व महासचिव एवम् अभियान्ता आङ्काजी शेर्पाले आदिवासी जनजातिको मुक्तिका लागि जस्तोसुकै आन्दोलन गर्न पनि पछि नगर्ने चेतावनी दिएका छन् ।
मोरङको उर्लाबारीमा शुक्रबार विश्व आदिवासी दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले सो चेतावनी दिएका हुन् । पृथ्वीनाराण शाहले एकीकरणको नाममा आदिवासीको गला रेट्ने काम गरेको उनले आरोप लगाए । नेकपा र काङ्ग्रेसमा लागेर आदिवासी जनजातिको मुक्तिका लागि केही गर्न नसकिने उनको भनाइ थियो ।
उनले अधिकार माग्दा जातिवादीको आरोप लगाउने गरेको बताए । आदिवासी जनजातिका नेता एकजुट हुनुको विकल्प नरहेको पनि उनले उल्लेख गरे । डेढ करोड आदिवासी जनजातिको मुक्तिका लागि आफू गोली थाप्न पनि तयार रहेको उनको भनाइ थियो ।