उर्लाबारीः मोरङको रतुवामाई नगरपालिकाको ६ नं वडास्थित सौंठामा बीपी नेत्र प्रतिष्ठानको आँखा, नाक, कान र घाँटीसम्बन्धी उपचार सेवा शुरु भएको छ । रतुवामाई नगरपालिकाका प्रमुख रविन राईले एक कार्यक्रमका बीच उपचार सेवाको उद्घाटन गरे ।

कार्यक्रममा बोल्दै नगरप्रमुख राईले नगर र आसपासका बासिन्दाले आँखा, नाक, कान र घाँटीसम्बन्धी सामान्य उपचारका लागि समेत टाढा जानुपर्ने बाध्यताको अन्त्य भएको बताए । उनले यसलाई विस्तार गर्दै आँखा, नाक, कान र घाँटीसम्बन्धी जटिल किसिमको उपचार सेवा पनि शुरु गरिने बताए । सो प्रतिष्ठानलाई अपाङ्गता पुनस्र्थापना केन्द्रको रूपमा समेत विकास गर्ने उनको भनाइ थियो ।

कार्यक्रममा प्रतिष्ठान स्थानीय निर्माण तथा व्यवस्थापन कार्यसमितिका अध्यक्ष खड्ग चोङवाङले प्रतिष्ठानको निर्माणाधीन संरचना सम्पन्न गरी अझ सुविधा सम्पन्न र सहज ढङ्गले उपचार सेवा प्रदान गर्ने बताए ।

अस्पताल स्थापनाका लागि स्थानीयवासीले १६ कठ्ठा जगा उपलब्ध गराएका छन् । सो जग्गामा संरचना निर्माण सम्पन्न नभएसम्मका लागि प्रतिष्ठानले सौंठास्थित नेपाल रेडक्रस सोसाइटीको भवनबाट सेवा सञ्चालन गर्नेे भएको छ ।

कार्यक्रममा स्थानीय समाजसेवी, रतुवामाई नगरपालिकाका जनप्रतिनिधि, शिक्षण संस्था, सहकारी संस्था र विभिन्न्न सामाजिक सङ्घ संस्थाका प्रतिनिधिको उपस्थिति रहेको थियो ।