उर्लाबारीः मुटुको भल्बमा समस्या देखिएपछि मोरङको उर्लाबारी–७ की नाबालिका इश्वरिया जिमीको उपचारमा समस्या देखिएको छ ।

डेढ महिनाकी नाबालिका जिमीको आर्थिक अभावले उपचार गराउन नसकेर परिवार समस्यामा परेको हो । उपचारका लागि चाहिने आर्थिक स्रोत परिवारसँग नभएपछि समस्यामा परेको आमा उषा जिमीले बताइन् ।

उपचारका लागि उनलाई काठमाडौंमा रहेको गंगालाल हृदय रोग केन्द्रमा लैजान डाक्टरले सुझाव दिएपछि पीडित परिवारले सहयोगको अपिल गरेको छ । नाबवालिका जिमी जीवनमरणको दोसाँधमा छट्पटाइरहेकी छिन् । गरिबीका कारण थप उपचारका लागि काठमाडौं जान नसक्दा उनको अवस्था दिनप्रतिदिन नाजुक बन्दै गएको छ ।

उनको जीवनरक्षाका लागि देशविदेशमा रहेका नेपालीमा हजुरआमा अम्बिका राईले अपिल गरिन् । हालसम्म ऋणपान गरी ५ लाख रुपैयाँ खर्च गरिसकेको उनले जानकारी दिइन् । शनिबार स्थानीयबासीको भेलाले इश्वरिया जिमी बचाऊ अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । स्थानीय देवी सिवाकोटीको संयोजकत्वमा समिति गठन भएको हो ।

समितिको सहसंयोजकमा शर्मिला बस्नेत र कोषाध्यक्षमा नरमाया भुजेल रहेकी छिन् । सदस्यमा तारा थापा, गोमा सुन्दास, देवी कटुवाल, कुलमाया अधिकारी, रुपा नेपाली, जङ्गी बाबा, पृथ्वी थापा, गीता थापा, ममता पाँचकोटी, हरिमाया श्रेष्ठ, कमला काफ्लेलगायत रहेका छन् ।