काँकरभिट्टाः आइतबार साँझ नेपाल–भारतको सीमावर्ती नाका पानीट्याङ्कीबाट पेस्तोल र त्यसमा लाग्ने ७ राउण्ड गोलीसहित १ नेपालीलाई भारतीय प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको मेचीनगर नगरपालिका ७ स्थित गैरीगाउँका ३७ वर्षीय कीर्तन बतर (चौधरी) रहेको भारतीय प्रहरीले जनाएको छ ।

भारतको पानी ट्याङ्की नाकाबाट काँकरभिट्टातर्फ आइरहेका चौधरीलाई भारतीय सीमा सुरक्षा बल एसएसवी ४१ नम्बर बटालियन रानीडाँगाको प्रहरी टोलीले पक्राउ गरेको बताइएको छ । उनलाई विशेष सुराकीका आधारमा पानीट्याङ्कीमा निर्मित एसियन हाइवेको फ्लाई ओभरबाट पक्राउ गरिएको हो । मे १ ह ६९५० नम्बरको सफारी लिएर भारत पुगेका उनले सोही सिटी सफारीमा राखेर पेस्तोल नेपाल ल्याउँदै गर्दा पक्रिएको भारतीय प्रहरीले जनाएको छ ।

उनको साथबाट ७ दशमलव ६५ एमएमको ७ राउन्ड गोलीसहित मेड इन युएस लेखिएको पेस्तोल फेला पारेको थियो । उनलाई आवश्यक कारवाहीका लागि खोरीबारी थाना पुलिसको जिम्मा लगाइएको बताइएको छ ।