इटहरीः युवा विकास केन्द्र (वाईडीसी) इटहरीले यौन शिक्षादेखि सुरक्षित गर्भपतनसम्बन्धी कार्यक्रम गरेर युवा दिवस मनाएको छ । अघिल्लो वर्षजस्तै विभिन्न रचनात्मक काम गरी युवा दिवस मनाएको बताइएको छ ।

शिक्षामा रूपान्तरण भन्ने मूल नाराका साथ विश्वभर मनाइएको युवा दिवस नेपालमा भने शिक्षामा रूपान्तरणः उद्यमशीलता र नवप्रवर्तन भन्ने मूल नाराका साथ मनाइएको हो । अगस्ट ११ र १२ तारिकमा मनाइने युवा दिवसको अवसरमा युवा महोत्सवको आयोजना गरी वाईडीसीले प्रदेश १ भरका १६ देखि ४० वर्षका युवालाई सहभागी गराइएको केन्द्रका अध्यक्ष सञ्जय चौधरीले बताए ।

उनका अनुसार सो महोत्सवमा महिनावारी स्वच्छता सचेतना, माया घरः मासिक सहयोग अभियान, प्याड बनाउने तालीम, सडक सचेतना कार्यक्रम, रक्तदान कार्यक्रम भएका थिए । त्यस्तै, खुला हाजिरीजवाफ प्रतियोगिता, अन्तर कलेज कविता प्रतियोगिता, स्लो बाइक रेसिङ, सडक नाटक, दाइजो प्रथा विरुद्ध नाटक प्रदर्शन पनि भएको थियो ।

अन्तर कलेज नृत्य प्रतियोगिता, यौन तथा प्रजनन स्वास्थ्य अधिकारसम्बन्धी युथ सर्भे कार्यक्रम, बृहत यौन शिक्षा, वैवाहिक समानता, सुरक्षित गर्भपतनसम्बन्धी सचेतना जस्ता कार्यक्रम समावेश भएको आयोजकले जनाएको छ ।

युवा महोत्सवको उद्घाटन गर्दै प्रदेश सांसद उमिता विश्वकर्माले प्रदेश १ मा प्रादेशिक युवा नीति बनाउनका लागि पहल गर्ने प्रतिबद्धता जनाइन् । प्रदेश १ का युवा र प्रदेश सरकारबीच समन्वयात्मक भूमिकाको जरुरी रहेको उनको भनाइ थियो ।

जिल्ला युवा समिति सुनसरीका अध्यक्ष हर्कजङ एभेङको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा बोल्दै अध्यक्ष एभेङले राष्ट्रिय युवा परिषदले प्रदेश तथा स्थानीय तहसम्म युवा क्लब गठन तथा बजेट विनियोजन जस्ता कार्यमा जोड दिइरहेकाले चाँडै त्यसले सफलता पाउने बताए ।

कार्यक्रममा युथ क्रिएसनका अमर राई, चेलीबेटी अपाङ्ग महिला सङ्घकी निवर्तमान अध्यक्ष दिलकुमारी राई, माइती नेपालका प्रदेश १ का कार्यक्रम संयोजक तथा आयोन प्रदेश उपाध्यक्ष देवका ढुङ्गेलको उपस्थिति रहेको थियो ।

कार्यक्रम संयोजक सञ्जय चौधरीले ‘प्रदेशमा युवा नीति’ विषयक अवधारणा पत्र प्रस्तुत गरेका थिए ।

yuba bikas kendra  (2)