इटहरीः नेपाली नारीको पर्व तीजलाई लक्षित गरेर फोटो कन्टेस्ट हुने भएको छ । ‘मिस तीज सारी क्वीन २०१९’ नाम दिइएको सो कन्टेस्टको परिकला मिडिया प्रालिद्वारा सञ्चालित डीथ्री अनलाइनको आयोजनामा हुने भएको हो ।

कन्टेस्टमा सहभागीले फारम भरेपछि फोटोसुट र सहभागी सबैको छुट्टाछुट्टै २ देखि ३ मिनेटसम्मको बायोग्राफी भिडियो निर्माण गरिने आयोजकले जनाएको छ । जुन फोटोलाई डीथ्री फोटोग्राफी फेसबुक पेज र भिडियोलाई सोही पेज तथा डीथ्री टीभी युट्युब च्यानलबाट सार्वजनिक गरिने भएको छ । ती तस्बिरको लाइक, शेयर र भिडियोको भ्युजको आधारमा विजेता घोषणा गरिने बताइएको छ ।

भ्युज, शेयर र लाइकको आधारमा पहिलो हुनेले विभिन्न गिफ्टसहित नगद ५ हजार, दोस्रो हुनेले नगद ४ हजार र तेस्रो हुनेले नगद ३ हजार प्राप्त गर्ने बताइएइको छ । त्यस्तै, सहभागीलाई अस्ट्रेलियन एजुकेसन कन्सल्टेन्सीको तर्फबाट पूर्ण छात्रवृत्ति र अस्ट्रेलिया पढ्न जान चाहेमा १ लाख रुपैयाँसम्मको सुविधा दिइने भएको छ । यो कन्टेस्टमा सहभागी हुनको लागि जम्मा २ हजार मात्र शुल्क लाग्ने र थप शुल्क नलाग्ने आयोजकले जनाएको छ ।

प्रतियोगितामा सारी लगाएर सहभागीले र्याम्प वाल्क पनि गर्ने बताइएको छ । तीजलाई लक्षित गरिएको भएर सारी लगाएर फोटोसुट गरिने आयोजकको भनाइ छ । फाइनलमा साङ्गीतिक कार्यक्रम आयोजना गरी पुरस्कार वितरण गरिने भएको छ ।

प्रतियोगितामा ‘बेस्ट फोटोजेनिक अवार्ड’ र ‘अर्गनाइज च्वाइस अवार्ड’ पनि वितरण गरिने भएको छ । सहभागीको साउन ३१ गतेसम्म फारम खुला गरिएको र साउन ३२ गतेदेखि फोटोसुट र बायोग्राफी भिडियो सुट गरिने बताइएको छ ।

भदौ २ र ३ गते पेजमा फोटो र भिडियो सार्वजनिक गरिने र फाइनल कार्यक्रम भने भदौ १४ गते इटहरीमा गरिने आयोजकले जनाएको छ ।