इटहरी – युवा विकास केन्द्र (वाइडिसी) इटहरीले यौन शिक्षादेखि सुरक्षित गर्भपतन सम्बन्धी कार्यक्रम गरेर युवा दिवस मनाएको छ । अघिल्लो वर्ष जस्तै यो पटक पनि वाइडिसीले विभिन्न रचनात्मक काम गरी युवा दिवस मनाएको हो ।

शिक्षामा रूपान्तरण भन्ने मूल नाराका साथ विश्वभर मनाइएको युवा दिवस नेपालमा भने शिक्षामा रूपान्तरण ः उद्यमशीलता र नवप्रवर्तन भन्ने मूल नाराका साथ मनाइएको हो । अगस्ट ११ र १२ तारिखमा मनाइने युवा दिवसको अवसरमा युवा महोत्सवको आयोजना गरी वाइडिसीले प्रदेश १ भरीका १६ देखि ४० वर्षका युवाहरूलाई सहभागी गराइएको केन्द्रका अध्यक्ष सञ्जय चौधरीले बताए ।

उनकाअनुसार उक्त महोत्सवमा महिनावारी स्वच्छता सचेतना, माया घर ः मासिक सहयोग अभियान, प्याड बनाउने तालिम, सडक सचेतना कार्यक्रम, रक्त्तदान कार्यक्रम, पत्रकार सम्मेलन, खुल्ला हाजिरी जवाफ प्रतियोगिता, अन्तर कलेज कविता प्रतियोगिता, स्लो बाइक रेसिङ्ग, सडक नाटक, दाइजो प्रथाबिरुद्ध नाटक प्रदर्शन, अन्तर कलेज स्तरीय नृत्य प्रतियोगिता, यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी युथ सर्भे कार्यक्रम, वृहत् यौन शिक्षा, वैवाहिक समानता, सुरक्षित गर्भपतन सम्बन्धी सचेतना जस्ता कार्यक्रम समावेश गरिएको थियो ।

received_424893161711911

युवा महोत्सवको उद्घाटन गर्दै प्रदेश १ की सांसद उमिता विश्वकर्माले प्रदेश १ मा प्रादेशिक युवा नीति बनाउनका लागि पहल गर्ने प्रतिबद्धता जनाइन् । प्रदेश १ का युवा र प्रदेश सरकार बिच समन्वयात्मक भूमिकाको जरुरी रहेको उनको भनाई थियो ।
जिल्ला युवा समिति सुनसरीका अध्यक्ष हर्कजङ एभेङको अध्यक्षतामा भएको कार्यक्रममा ३ सय बढी युवाहरू सहभागी भएको आयोजकको भनाई छ । कार्यक्रममा बोल्दै अध्यक्ष एभेङले राष्ट्रिय युवा परिषद्ले प्रदेश तथा स्थानीय निकाय सम्म युवा क्लब गठन तथा बजेट विनियोजन जस्ता कार्यमा जोड दिइरहेकोले चाडै त्यसले सफलता पाउने बताए ।

कार्यक्रममा युथ क्रिएसनबाट अमर राई, चेलीबेटी अपाङ्ग महिला सङ्घकी निवर्तमान अध्यक्ष दिल कुमारी राई, माइती नेपालका प्रदेश १ कार्यक्रम संयोजक तथा आयोन प्रदेश उपाध्यक्ष देवका डुङगेल को उपस्थिति रहेको थियो ।
कार्यक्रम संयोजक समेत रहेका सञ्जय चौधरीले ‘प्रदेशमा युवा नीति’ विषयक अवधारणा पत्र प्रस्तुत गरेका थिए ।