पाँचथरः पाँचथरमा पहिलो पटक डेङ्गु रोगका बिरामी भेटिएका छन । २ साता यता त्यस्ता बिरामी भेटिन थालेपछि प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले जिल्लाको अवस्थाबारेमा चासो राखेको छ । जिल्ला स्वास्थ्य कार्यालय पाँचथरलाई पत्राचार गर्दै मन्त्रालयले जानकारी लिएको हो । मन्त्रालयले पत्राचार गरेपछि जिल्ला स्वास्थ्य कार्यालय तथ्याङ्क सङ्कलनमा लागेको छ ।

पहाडी इलाकामा पहिलो पटक यस्तो सङ्क्रमण भेटिएको हो । फिदिममा जिल्ला स्वास्थ्य कार्यालयले पत्रकार सम्मेलनको आयोजना गर्दै दिएको जानकारी अनुसार हालसम्म ३ हजार ४ सय २५ जानमा त्यस्तो सङ्क्रमण देखिएको छ । यो सङ्ख्या मोरङ, सुनसरी, झापासहितका जिल्लाको हो । भेटिएका सङ्क्रमित मध्ये मोरङका मात्रै ३ हजार रहेका छन् । पछिल्लो समय पाँचथरमा ५ जनामा त्यस्तो सङ्क्रमण पाइएकोे जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

आम नागरिकमा डेङ्गु सङ्क्रमणका बारेमा गलत धारणा रहेको पाइएको छ । यो रोग डरलाग्दो हो भन्ने भ्रमका कारण समस्या भइरहेको स्वास्थ्यकर्मीले बताएका छन् ।

‘यो सामान्य सङ्क्रमण हो । समयमा उपचार गराए निधान गर्न कुनै समस्या छैन’ जिल्ला स्वास्थ्य कार्यालयका पाँचथरका तेजबहादुर तुम्बापो भन्छन्, ‘अहिले जिल्ला स्वास्थ्य कार्यालय सङ्क्रमण जिल्लामै भएको हो या बाहिर गएर फर्किएकाहरूमा भएको हो भन्ने खोजीमा छ ।’

यसअघि भेटिएका केही सङ्क्रमित तराईबाट फर्किएकाहरू रहेकाले थप हुने पनि सोही अवस्थाका छन् या यहीँ सङ्क्रमण भएको हो भन्ने खोजी भइरहेको हो । यहीँ नै रहेकाहरूमा सङ्क्रमण पाइए समस्या समाधानका लागि लामखुट्टे खोज र नष्ट गर अभियान चलाउनुपर्ने तयारीमा जिल्ला स्वास्थ्य कार्यालय पुगेको बताइएको छ ।