बेलबारीः मोरङको बेलबारी नगरपालिका –७ का बद्री चौधरी सोमबार वडा कार्यालयमा आएर बसिरहेका थिए । उनको अनुहार दिनभरको घामले निन्याउरो देखिन्थ्यो ।

वडा कार्यालयको छेउमा शीतलमा बसेर दिन काटेका चौधरी त्यहाँ आउने र जाने सबैलाई हेरिरहेका थिए । उनले हेर्दाहेर्दै नगरपलिकाको गाडीबाट उपमेयर ढाकाकुमारी पराजुली, प्रमुख प्रशासकीय अधिकृत प्रदीप शाह लगायतको टोली उत्रियो र चौधरीलाई नै नमस्ते गर्दै भन्यो सन्चै हुनुहुन्छ ? उनले निन्याउरो अनुहार लगाएर सन्चै छु भने ।

ह्वील चेयरमा बसेका चौधरीलाई उपमेयर पराजुलीले गाडीबाट २ बोरा चामल, दाल, चिउरा, चिनी, नुन, तेल त्रिपाल, झुल लगायतका सामग्री दिँदै भनिन्, ‘यो लगेर खाँदै गर्नुहोस् तपार्इंको घर हामी आफैँ आएर बनाइदिन्छाँै ।’

चौधरीले भने, ‘मैले यति धेरै सामान पाउँछु भन्ने सोचेकै थिइनँ ।’ २ ओटा टिनका पाताले छाएको घरमा बस्ने र बैशाखीको भरमा हिँड्ने चौधरीका २ छोरा र १ छोरी छन् । छोरा भारतमा बस्छन् । छोरीको विवाह भइसकेको छ । ७ नम्बर वडाको खड्का टोलमा बस्दै आएका चौधरी भारतको बम्बईमा पोल्ट्री फर्ममा काम गर्दा लडेर खुट्टा भाँचिएको थियो । उनलाई गत वर्ष नगरपालिकाले ह्वील चेयर दिएको थियो ।