इटहरीः वैज्ञानिक वन व्यवस्थापनको बारेमा गलत बुझाइ रहेको वन व्यवस्थापनको क्षेत्रमा काम गर्नेहरूले बताएका छन् ।नेपाल पत्रकार मञ्च मोरङको आयोजना र लाटीझोडा साझेदारी वन व्यवस्थापन समूहको सहयोगमा सुन्दरहरैंचाको गछियामा भएको वैज्ञानिक वन व्यवस्थापन र यसको उपलब्धी विषयमा अन्तरक्रिया कार्यक्रममा उनीहरूले यस्तो बताएका हुन् ।

सहायक वन अधिकृत विक्रम अमात्यले साझेदारी वनको बारेमा सञ्चारकर्मी तथ अन्य नागरिक गलत बुझाइ रहेको हुनाले त्यसलाई हटाउनु आवश्यक भएको बताए । वैज्ञानिक वन व्यवस्थापनको नाममा चारकोशे झाडी मासिने भनी सञ्चार माध्यमले भन्दा सर्वसाधारण समेत अलमलमा परेको र वैज्ञानिक वन व्यवस्थापनप्रति नै नकारात्मक धारणा उत्पन्न भएको उनको भनाइ थियो । वैज्ञानिक वन व्यवस्थापन प्रारम्भिक चरणमा रहेको र १० वर्षमा यसको नतिजा हेरेर मात्रै भन्न सकिने उनको भनाइ थियो ।

वैज्ञानिक वन व्यवस्थापनको लागि ८० वर्ष समय छुट्याइएको र सोही अनुसार सर्पट कटान र सेल्टर उड कटान हुने उनले बताए । पछिल्ला पुस्तालाई अहिलेको भन्दा धेरै मात्रामा स्तरीय (साल) लगायतको काठ दिन यो नीति सरकारले लिएको उनले बताए । लाटीझोडा साझेदारी वन व्यवस्थापन समूहको सहयोगमा भएको कार्यक्रममा सहभागीले राखेका जिज्ञासाको सहायक वन अधिकृत अमात्य र रेन्जर ओम अधिकारीले जवाफ दिएका थिए ।

अन्तरक्रियामा सहभागीले वैज्ञानिक वन व्यवस्थापनको बारेमा गलत बुझाइ रहनुमा रुख कटानको समय उपयुक्त नहुनु, ठूला र राम्रा रुख भएको ठाउँ कटान क्षेत्रमा पर्नु, काटिएका रुख उपभोक्तालाई सही तरिकाले बिक्री वितरण नहुनु आदि समस्या रहेको बताए । रुख कटान गर्दा पशुपंक्षीको वासस्थानमा पुग्ने असर, पानीको मुहानमा पर्ने असर र जैविक विविधतामा पर्ने असरका बारेमा सोच्नुपर्ने उनीहरूले सुझाव दिएका थिए ।

baigyanik ban  (5) baigyanik ban  (4)