उर्लाबारीः मोरङको उर्लाबारीमा विश्व युवा दिवसको अवसरमा आयोजित माध्यमिक विद्यालयस्तरीय खुला वाचन प्रतियोगिताको उपाधि उर्लाबारी–७ स्थित नेपाल दर्शन कलेजका अनिल कोइरालाले जितेका छन् ।

यु युथ अफ उर्लाबारीको आयोजनामा भएको उक्त प्रतियोगितामा सहभागी प्रतिष्पर्धीलाई पछि पार्दै उनले उपाधि जितेका हुन् । त्यस्तै, राधिका माध्यमिक विद्यालयकी सलिना गिरी दोस्रो र हिमचुली बोर्डिङ स्कुलकी अनुसा कार्की तेस्रो भए ।

उनीहरूलाई नगदसहित आकर्षक पुरस्कार प्रदान गरियो । प्रतियोगिताको निर्णायक चर्चित वक्ता रमेश प्रसाई, नेपला पत्रकार महासङ्घ प्रदेश नं. १ का अध्यक्ष विक्रम लुइँटेललगायत रहेका थिए । उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा पूर्वी मोरङ र दमकका विद्यार्थीहरूको सहभागिता रहेको अध्यक्ष प्रेम शर्माले जानकारी दिएका छन् ।

२०७५ सालमा स्थापना भएको उक्त संस्थामा ५१ जना क्रियाशील सदस्य रहेका छन् । संस्थाले सामाजिक तथा मनोरञ्जनात्मक कार्यक्रम गर्दै आएको सहसचिव किशोर श्रेष्ठले जानकारी दिएका छन् ।