बिर्तामोडः झापाको बिर्तामोडमा आगामी पुसदेखि पूर्वाञ्चल क्यान्सर हस्पिटल सञ्चालनमा आउने भएको छ । ४ अर्ब रुपैयाँको लागतमा डेढ वर्ष अघि सो हस्पिटलको लागि भवन निर्माणको काम शुरु भएको थियो । आगामी पुस महिनादेखि हस्पिटल सञ्चालनमा आउने हस्पिटल प्रशासनले जनाएको हो ।
हस्पिटल सञ्चालनका लागि डेढ अर्ब रुपैयाँ बराबरको उपकरण भित्र्याइसकेको जनाइएको छ । बीएण्डसी हस्पिटलद्वारा सञ्चालित पूर्वाञ्चल क्यान्सर हस्पिटलले क्यान्सरको उपचारका लागि १० प्रकारका आधुनिक उपकरण भित्र्याएको अस्पताल प्रशासनले जनाएको हो ।
दक्षिणपूर्वी एशियामा नै पहिलो पटक सो उपकरण पूर्वाञ्चल क्यान्सर हस्पिटलले ल्याएको हस्पिटलका कार्यकारी निर्देशक दुर्गा प्रसाईंको दाबी छ । क्यान्सरको पूर्ण उपचारका लागि अमेरिकामा निर्माण भएको उच्च प्रविधिको उपकरण नेपालमै पहिलो पटक भित्र्याइएको प्रसाईँले बताए । सन् २०१८ मा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट स्वीकृति लिएर हस्पिटलको भवन निर्माणको काम शुरु भएको थियो ।
अस्पातलले ३ सय शैय्या रहने गरी स्वीकृति पाएको छ । पहिलो चरणमा १ सय शैय्याबाट पुसदेखि सेवा सञ्चालन गर्न लागेको अस्पतालका मेडिकल डाइरेक्टर डाक्टर वीरेन्द्रकुमार यादवले बताए । अस्पतालको भवन निर्माणको काम अन्तिम चरणमा पुगेको र विभिन्न मेसिन तथा उपकरण जडानको काम भइरहेको डा. यादवको भनाइ छ ।
प्रदेश–१ र २ का क्यान्सरका बिरामीलाई लक्षित गरेर हस्पिटल सञ्चालनमा ल्याउन लागेको डा. यादवले बताए । ‘पुसदेखि हाम्रो अस्पताल सञ्चालनमा आउँछ’, यादवले भने, ‘क्यान्सर अस्पताल सञ्चालनमा आएसँगै प्रदेश– १ र २ मा रहेका क्यान्सरका बिरामीले सहज रूपमा उपचार सेवा पाउनेछन् ।’