इटहरीः मुलुक सङ्घीय संरचनामा गएसँगै नेपाल विद्युत प्राधिकरणले पनि मुलुकभर रहेका आफ्ना कार्यालयलाई सोही अनुसार समायोजन गरेको छ । प्राधिकरणले वितरण तथा ग्राहक सेवा निर्देशनालय अन्तर्गतका क्षेत्रीय कार्यालय र वितरण केन्द्रलाई समायोजन गरेको हो । क्षेत्रीय कार्यालयको नाम परिवर्तन गरी प्रादेशिक कार्यालय बनाइएको छ ।

प्राधिकरण सञ्चालक समितिको गत पुस १८ गतेको बैठकले क्षेत्रीय कार्यालय र त्यस मातहत रहेका वितरण केन्द्रलाई मुलुकको सङ्घीय संरचनाबमोजिम सञ्चालन र व्यवस्थापन गर्ने निर्णय गरेको थियो । प्राधिकरणले बुधबार परिपत्र जारी गर्दै कार्यालय समायोजन गर्ने निर्णय कार्यान्वयमा ल्याएको हो ।

७ ओटै प्रदेशमा वितरण तथा ग्राहक सेवाका प्रादेशिक कार्यालय रहने भएका छन् ।

प्रदेश नं १ को प्रादेशिक कार्यालय, विराटनगर अन्तर्गत २४ वितरण केन्द्र रहेका छन् । यसअघि जनकपुर क्षेत्रीय कार्यालयअन्तर्गत रहेका उदयपुर, ओखलढुङ्गा र दिक्तेल वितरण केन्द्रलाई १ नं प्रादेशिक कार्यालयमा समायोजन गरिएको छ ।