विराटनगर: आफन्त नभएर कोसी अस्पतालमा उपचार सेवा नपाएका बेवारिसे अवस्थाका एक व्यक्तिको विराटनगर महानगरपालिकाले निःशुल्क उपचार गराएको छ । प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारीले उपचारका लागि आफन्त बनेर हस्ताक्षर गरेपछि उनको उपचार सम्भव भएको थियो ।
ओखलढुङ्गा घर बताउने अन्दाजी ३५ वर्षीय शङ्कर मगर भारतबाट नेपाल आएको र घाइते भएर अस्पताल आउँदा उपचार नपाएको बताएका थिए । उनलाई चिकित्सकले खुट्टा काट्नुपर्ने भन्दै आफन्त चाहिने अड्डी लिएका थिए ।
गत मङ्गलवार अधिकारीले आफन्त बनेर ती युवाको उपचारमा लाग्ने सम्पूर्ण खर्च नगरपालिकाले बेहोर्ने भएपछि चिकित्सकले उनको खुट्टा काटेका थिए ।
खुट्टामा घाउ भएर लामो समय बेवारिसे बनेका युवाको खुट्टा कामै नलाग्ने गरी कुहिएको थियो । हाल उनको स्वास्थ्य अवस्थामा सुधार भएको र अब कुनै जोखिम नभएको चिकित्सक यज्ञराज खरेलले जानकारी दिएका छन् ।
अहिले मगरले सामान्य बोल्न सक्ने अवस्थामा छन् भने उनले खाना समेत खान सक्छन् ।
यता महानगरले भने अव यसरी बेवारिसे अवस्थामा भेटिएका व्यक्तिले उपचार सेवा नपाएर ज्यान नगुुमाओस् भन्नका लागि विशेष कार्यविधि बनाएर चाँडै लागु गरिने योजना बनाएको छ ।
‘कोही पनि व्यक्ति आफन्तविहिनको अवस्थामा बेवारिसे हुनुहुँदैन र स्वास्थ्य सेवाबाट वञ्चित हुनुहुँदैन भन्ने महानगरको सोच छ’ अधिकारीले भने –‘हामी सोहिअनुसारको व्यवस्थाका लागि गृहकार्य गरिसकेका छौँ ।’