धनकुटाः गाईजात्राको भोलिपल्ट मनाइने हिलेजात्रा (रोपाइँजात्रा) धनकुटामा पनि मनाइएको छ ।
यो जात्रा रोपाइँ सकिएको खुशीयालीमा मनाउने गरिएको परम्परा रहेको छ । यो जात्रामा पुरुषहरू महिलाको भेषमा र महिलाहरू पुरुषको भेषमा सजिएर रोपाइँ गरेको अभिनय गरी बाजागाजाको साथमा नाच्दै मनाउने परम्परा रहेको छ । अचेल यो जात्रामा जनचेतनामूलक सन्देश बोकेका प्लेकार्ड बोकेर समेत जात्रा मनाउने प्रचलन रहेको छ ।
नेपाल परिवार नियोजन सङ्घ धनकुटा शाखाका प्रमुख कुमार श्रेष्ठ अचेल जनचेतनामूलक सन्देश प्रवाह गर्ने उद्देश्य बताउँछन्् । उनका अनुसार रोपाइँजात्राको अवसरमा परिवार नियोजनका सन्देश प्रवाह गर्नका लागि परिवार नियोजनसँग सम्बन्धित सामग्री प्रयोग गरेर व्यङ्ग्यात्मक रूपमा प्रचारप्रसार गर्न पनि थालिएको छ ।