धरानः दलित समुदायको सहभोजमा सँंगै बसेर खाना खाँदा समाजबाटै बहिष्कारमा परेका खोटाङका टङ्कप्रसाद आचार्यलाई धरानस्थित वराह ज्वेलरी इण्डष्ट्रिज प्रालिले सम्मान गरेको छ ।

दलित समुदायमाथि हुने गरेको विभेद विरुद्ध आवाज उठाएका खोटाङको दिक्तेल रुपाकोट मझुवावढी नगरपालिका १ का ढिकाली टंके भनेर चिनिने ७६ वर्षीय टङ्कप्रसाद आचार्यलाई दोसल्ला ओढाएर सम्मान गरिएको हो ।

जातीय विभेदविरुद्ध आवाज उठाउँदा दाजुभाइबाटै बहिष्कारमा परेको भन्दै आचार्य प्रदेश सरकारसमक्ष न्याय माग्न आएका हुन् । उनलाई वराहका धरान शाखा प्रमुख मानबहादुर विश्वकर्मासहित प्रशासकीय प्रमुख गंगा कालिकोटे लगायत डिपार्ट प्रमुखहरूले खादा लगाइदिएर सम्मान गरेका थिए ।

संस्कार र परम्पराको आधारमा अझै पनि दलित समुदायमाथि हुने गरेको विभेदविरुद्ध आचार्यले चालेको कदमले समाज परिवर्तनमा महत्वपूर्ण भूमिका खेलेकोमा प्रशंसा गर्दै शाखा प्रमुख विश्वकर्माले दोसल्ला ओढाएका थिए ।

जिल्ला समन्वय समिति खोटाङले जेठ १८ गते आयोजना गरेको दलित समुदायसँगको सहभोज कार्यक्रममा दलित समुदायसँगै बसेर भोज खाएको आरोपमा उनकै दाजुभाइले उनलाई बहिष्कार गरेका थिए ।

सम्मान ग्रहण गर्दै आचार्यले राज्यले न्याय दिलाइदिनुपर्ने आग्रह गरेका छन् । उनले भने, ‘यदि मैले गलत गरँे भने फाँसी दिइयोस् । होइन भने मलाई सम्मानका साथ समाजमा स्थापित गर्दै ममाथि दुव्र्यवहार गर्नेलाई कारवाही गरियोस् ।’

समाजमा हुने कुनै पनि कार्जे, पर्वमा आफन्तले बोलाउन छाडेपछि आफू बहिष्कारमा परेको महसुस गरेका उनी १ हप्तादेखि प्रदेश सरकारको कार्यालय र मन्त्रालयमा न्यायका लागि धाइरहेका छन् ।